स्वास्थ्यमन्त्रीले भने- ‘चिनियाँ अनुभव महामारी नियन्त्रणमा महत्त्वपूर्ण साबित’

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ विश्वका लागि ठूलो चुनौती रहेको र चीनले प्राप्त गरेको अनुभव संक्रमण नियन्त्रणमा महत्त्वपूर्ण साबित भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया ग्रुपले संयुक्त आयोजना गरेको नेपाल-चीन स्वास्थ्य विशेषज्ञ भर्चुवल मञ्चमा मन्त्री ढकालले नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडा मिहिनेतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको बताए।

महामारी नियन्त्रणमा चिनियाँ अनुभव सारा विश्वको लागि उपयोगी हुन सक्ने उनले बताए।

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले कोभिड-१९ को समस्त मानव जातिको साझा त्रासको विषय बनेको उल्लेख गर्दै आपसी समन्वय र सहयोगबाट मात्रै कोभिड-१९ विरुद्ध लड्न शक्ति मिल्ने बताइन्।

पहाड र नदीले जोडिएको नेपाल-चीनले महामारीको सामना गर्न प्रदर्शन गरेको ऐक्यबद्धता तथा आपसी सहयोगले दुवै देश र जनताबीचको मित्रताको प्रगाढ प्रतिविम्बित भएको उनले प्रष्ट पारिन्।

कोभिड-१९ रोकथाम र नियन्त्रणमा नेपाल सरकारले चालेको कडा कदमको प्रशंसा गर्दै त्यसले नेपालमा सकारात्मक नतिजा देखिएको राजदूत यान्छीले उल्लेख गरिन्।

नेपालको तर्फबाट मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिफ कन्सल्ट्यान्ट फिजिसियन डा. अनुप बास्तोला तथा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले चिनियाँ चिकित्सकसँग कोभिड-१९ सँग सम्बन्धित जिज्ञासा राखेका थिए।

विपी कोइराला स्मृति क्यान्सर अस्पतालका चिनियाँ चिकित्सक टोलीका प्रमुख डा. लिउ लिउ, चीनबाट डा. चाङ सिन ल्याङ, डा. याङ्ग नान, डा. वाङ फैलगायतले कोभिड-१९ को उपचार र नियन्त्रणमा प्राप्त गरेको अनुभव एवं नेपाली विज्ञबाट प्राप्त जिज्ञासाको जवाफ दिएका थिए।

चाइना मिडिया ग्रुपअन्तर्गत चाइना सेन्ट्रल टेलिभिजन, चाइना रेडियो इन्टरनेशनललगायतका चिनियाँ सञ्चारमाध्यम तथा नेपालको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभ पेजमा कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्