महाकाली तरेर भित्रिए ६ नेपाली
<p>दार्चुला। लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली हिजो महाकाली नदी तरेर नेपाल प्रवेश गरेका छन्। चार महिनाअघि मजदुरी गर्न गएका उनीहरूले ट्युबबाट महाकाली तरेका हुन्।</p>
<p>भारतको डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका-३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका-५ का कृष्ण ओड जोखिमपूर्ण रूपमा नेपाल प्रवेश गरेका हुन्। ओड भने महाकालीमा पौडेर नेपाल आएका हुन्।</p>
<p>लकडाउनका कारण काम बन्द भएपछि घर फर्किएको वीरेन्द्रले बताए। “एक महिनादेखि काम बन्द भयो,” उनले भने, “नेपाल-भारत सीमाको झोलुंगे पुल खुलेको जानकारी नहुँदा ट्युब तरेर आएका हौँ।” उनीहरू डिडिहाटबाट तीन दिन हिँडेर धार्चुला आएका थिए।</p>
<p>उनीहरूलाई सम्बन्धित स्थानीय तहको क्‍वारेन्टाइनमा पठाउने तयारी छ। ट्युबमार्फत महाकाली तरेवापत उनीहरूले जनही एक हजार ६०० रुपैयाँ तिरेका थिए। रासस</p>
प्रतिक्रिया दिनुहोस्