महामारीका बावजुद चीनको निर्यात व्यापारमा वृद्धि

बेइजिङ। कोभिड-१९ को उद्‍गम मुलुक चीनमा गत अप्रिलको निर्यात व्यापारमा अघिल्लो वर्षको तुलनामा वृद्धि देखिएको छ।

जबकि, चीनको आपूर्ति व्यवस्थापन अन्य मुलुकभन्दा पहिले नै प्रभावित भइसकेको थियो।

सरकारले सार्वजनिक गरेको पछिल्लो आँकडाबाट चीनका सामान उत्पादक ठूला कम्पनीहरूले राहत महशुस गरेका छन्।

त्यसका बावजुद आगामी महीनामा विश्‍व बजारबाट माग नै घटेर निर्यात व्यापारमा संकुचन आउने चिन्तामा चिनियाँ उद्योगी, व्यापारी देखिन्छन्। संसारभरको अर्थतन्त्र मन्दीमा गएको र बेरोजगारी दर उच्च भएकाले माग घट्ने चिन्ता उनीहरूमा छ।

बीबीसीका अनुसार गत वर्ष अप्रिलमा भन्दा यस वर्ष निर्यात व्यापारमा तीन दशमलव पाँच प्रतिशतको वृद्धि देखिएको छ।

सन् २०२० चीनका लागि खराब शुरुवात लिएर आएको थियो। सन् २०१९ को डिसेम्बर अन्तिम सातादेखि देखिएको कोराना भाइरसको संक्रमणका कारण शहरहरूमा धमाधम लकडाउन गर्नु परेको थियो।

मार्चमा लकडाउन खुकुलो बनाएपछि भने कारखानाहरूले उत्पादन थालेका थिए। संसारभरका कलकारखाना कोभिड-१९ को चपेटामा आउँदा चीनका कारखानाले धमाधम निर्यात थालेका थिए। सोही कारण अघिल्लो वर्षभन्दा बढी निर्यात व्यापार चीनले हासिल गरेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्