कपनमा कम तौलको ग्यास सिलिन्डर बेच्‍ने पक्राउ, तीन वर्ष कैद र जरिवाना मागदाबीसहित मुद्दाको तयारी
काठमाडौं। महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ ।

प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्यास डिपोका सञ्चालक अमितकुमार श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो ।

खरीद गरेर घर लगेको ग्यास कम तौल भेटिएपछि उपभोक्ताले कालोबजारीको आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले खानतलासी गर्दा सिद्धार्थ ग्यास ४७ र गीता ग्यास २८ गरी जम्मा ७५ वटा ग्यासको सिलिन्डर बरामद गरेको थियो ।

बरामद भएका ७५ वटै ग्यासको सिलिन्डर मापदण्ड विपरीत कम तौल भएको र नक्कली सिल लगाइएको अवस्थामा फेला परेको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए।

बरामद ग्यासको सिलिन्डरसहित सञ्चालक श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा पठाइएको छ।

विभागका महानिर्देशक विश्वबाबु पुढासैनीले सञ्चालकले ठगी गरेको पाइएकोले स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार तीन वर्ष कैद र ३० हजार मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिने जानकारी दिए।

प्रहरीका अनुसार सञ्चालक श्रेष्ठले कम तौलमा बिक्री वितरण गरेको बताउँदै यसअघि १०० थानभन्दा बढी कम तौलका ग्यासको सिलिन्डर बिक्री गरेको स्वीकार गरेका छन् ।

प्रहरीले घटनास्थलबाट कम तौलको ग्यास सिलिन्डरसहित ग्यास निकाल्न प्रयोग हुने फलामको पाइप, नक्कली सिलहरु बरामद गरेको थियो । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्