नेदरल्यान्ड्समा कोभिड-१९ को खोप पत्ता नलागेसम्म खेल गतिविधि दर्शकबिनै सञ्चालन

काठमाडौं। नेदरल्यान्ड्सका स्वास्थ्यमन्त्री ह्युगो डी जोन्जले कोरोना भाइरसको खोप पत्ता नलागेसम्म सम्पूर्ण खेलकुद गतिविधि दर्शकबिना नै सञ्‍चालन हुने बताएका छन्।

प्रधानमन्त्री मार्क रूट्टेले बुधबार नेदरल्यान्ड्समा खेलकुद गतिविधि १ सेप्‍टेम्बरदेखि शुरू हुने बताएका थिए। तर स्वास्थ्य मन्त्री डी जोन्जले खोप पत्ता नलाग्दासम्म भीड जम्मा हुने गतिविधिमा रोक लगाउनुपर्ने बताएका छन्।

‘‘हामीले भीडभाड हुनेगरी पछिल्लो पटक मिति तय गरेका छैनौं,’’ मन्त्री डी जोन्जले संसद्लाई लेखेको पत्रमा उल्लेख छ, ‘‘खोप पत्ता नलाग्दासम्म यो कति लामो समय जान्छ भनेर भन्‍न सकिँदैन। आशा गरौं चाँडोभन्दा चाँडो भ्याक्सिन पत्ता लाग्‍नेछ।’’

नेदरल्यान्ड्समा कोभिड-१९ महामारीका कराण ४१ हजारभन्दा धेरै संक्रमित भएका छन् भने पाँच हजार २८८ जनाले ज्यान गुमाएका छन्।

महामारीकै कारण नेदरल्यान्ड्सका शीर्ष श्रेणीका दुई लिग बीचमै रद्द गरिएको थियो। लिग रद्द गर्दा कुनै पनि विजेता टिम र रेलिगेशन तथा बढुवा नहुने निर्णय गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्