फुटबल धेरै मिस भयो: पोग्बा

काठमाडौं। चोट तथा कोरोना भाइरस महामारीका कारण गत डिसेम्बरदेखि मैदानबाहिर रहेका म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले खेल्नका लागि आतुर भएको बताएका छन्।

कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्डमा अझै पनि व्यावसायिक खेलकुद गतिविधि स्थगित छ। तथापि, बुन्डेसलिगा १६ मेदेखि हुने तय भएपछि प्रिमियर लिग पनि पुन शुरू गर्न सम्भावित उपायहरूबारे छलफल भइरहेको छ।

गत मार्चमा प्रियिमर लिग स्थगित हुँदा पोग्बा भर्खरै चोटमुक्त भएर फर्किएका थिए। उनले युनाइेटडबाट यस सिजन ८ खेल मात्र खेले। त्यसैले पनि पोग्बा मैदानमा उत्रिन आतुर छन्।

‘‘मैले साँच्चिकै फुटबललाई मिस गरिरहेको छु,’’ पोग्बाले भने, ‘‘म घाइते भएको थिएँ। त्यसकारण झन्डै सात महिना व्यक्तिगत ट्रेनिङ गरिरहेको छु। जब म मैदान फर्किएँ, कोरोना भाइरस महामारी फैलियो। त्यसकारण सबै ठप्प भयो। म मैदान फर्किएर उत्कृष्‍ट प्रदर्शन गर्न चाहन्छु। मैले धेरै खेल छुटाएँ। अब मैदान फर्किंदा मैले राम्रो गर्नुको विकल्प छैन।’’

पोग्बाले लकडाउनको समयमा आफूलाई फिट राख्‍ने विभिन्‍न उपाय अपनाएको बताए।

‘‘मैले घरमै सानो मैदान बनाएको छु। जहाँ मैले ट्रेनिङ गरिरहेको छु। सानो मैदानमा मैले छोरासँग खेल्छु,’’ पोग्बाले भने, ‘‘यता उता जता गए पनि बल खेलिरहेको हुन्छु। श्रीमतीसँग योगा पनि गरिरहेको छु।’’

प्रतिक्रिया दिनुहोस्