नेपाललाई अन्तर्राष्ट्रिय मुद्रा कोषको २६ अर्ब रुपैयाँ सहयोग

काठमाडौं। अन्तर्राष्‍ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई करीब २६ अर्ब रूपैयाँ (२१ करोड ४० लाख अमेरिकी डलर) दिने भएको छ।

२४ वैशाखमा बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले नेपाललाई कोभिड-१९ महामारीले प्रभाव पारेको क्षेत्रमा खर्च गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

उक्त रकमले नेपालको भुक्तानी सन्तुलनमा सहयोग गर्ने अपेक्षा अन्तर्राष्‍ट्रिय मुद्रा कोषको छ।

कोभिड-१९ को महामारीका कारण रेमिट्यान्स, पर्यटन र देशभित्रका अन्य आर्थिक गतिविधिमा प्रभाव पर्दा नेपालको आर्थिक वृद्धि, भुक्तानी सन्तुलन र वित्तीय स्थितिलाई कमजोर बनाएकाले त्यसको सुदृढीकरणमा उक्त सहयोग प्रभावकारी हुन सक्ने आईएमएफले उल्लेख गरेको छ।

नेपाल सरकारले स्वास्थ्य खर्च बढाउन, वित्तीय प्रणालीमा पर्याप्त तरलता सुनिश्चित गर्न, ऋणको पहुँचमा सहज बनाउनका लागि अन्तर्राष्‍ट्रिय सहयोगी निकायहरूसँग आर्थिक सहायता माग गरिरहेको छ।

बजेटको स्रोत व्यवस्थापनका लागि पनि आन्तरिक स्रोत कमजोर भएको हुँदा सरकारले अन्तर्राष्‍ट्रिय सहयोग जुटाउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्