कोरोना संक्रमणका 'हट स्पट' क्षेत्रमा थप स्वास्थ्य सामग्री पठाइँदै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको संख्याबाट 'हटस्पट' मानिएको र अन्य जोखिमयुक्त क्षेत्रमा स्वास्थ्य सामग्री पठाउने तयारी गरेको छ।

त्यहाँ अत्यावश्यक स्वास्थ्य उपकरण, औषधी लगायतका सामाग्री पठाउन लागिएको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले केही ठाउँमा अभाव हुन लागेकोले आवश्यक सबै सामाग्री पठाउन लागिएको जानकारी दिए।

“हामीले वीरगञ्‍ज, नेपालगञ्‍ज, धनगढी, रुपन्देही लगायत अत्यावश्यक क्षेत्रमा आवश्यक स्वास्थ्य उपकरण पठाउन लागेका छौं”, उनले देखापढीसँग भने, “कहाँ कति आवश्यक छ त्यसै अनुसार सबै तयारी भइसकेको छ।”

नेपाली सेनाको स्काइ ट्रकबाट विभिन्न स्थानहरुमा ढुवानी हुने उनले जानकारी दिए।

उदयपुर र विराटनगरमा अहिले परीक्षण किट लगायत उपकरणको अभाव नभएकाले तत्काल अभाव हुन थालेको ठाउँमा पठाउन लागिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आवश्यक परीक्षण किट, पीपीई, औषधी लगायतका अत्यावश्यक सामाग्री विभिन्न जिल्लाहरुम पठाउन लागिएको छ।

जोखिमका रूपले अहिले संक्रमित धेरै देखिएको क्षेत्र वीरगञ्ज, नेपालगञ्ज लगायतका क्षेत्रमा परीक्षणको दायरा ब्यापक गर्नुपर्ने भएकाले त्यहाँ अहिले किटहरुको अभाव रहेको छ।

हिजो मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा ५००, वीरगञ्‍‍ज र नेपालगञ्‍जमा एक/एक हजार स्वाब नमूना संकलन गर्न इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरेको छ। ती क्षेत्रमा समुदायमा कोभिड-१९ परीक्षण गर्न लागिएको हो।

परीक्षण गर्ने किटको मौज्दात सकिन लागेकै कारण अहिले वीरगञ्ज, नेपालगञ्ज र धनगढी क्षेत्रमा प्रयाप्त मात्रामा परीक्षणको काम हुन सकेको छैन।

देशैभर जोखिमयुक्त क्षेत्रमा परीक्षण किटको अभाव भइरहेका बेला हिजो मात्रै संघीय सांसद, कर्मचारी र त्यहाँ कार्यरत सुरक्षाकर्मीहरु गरेर ४४१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

जोखिमयुक्त क्षेत्रमा नगएका, संक्रमितको सम्पर्कमासमेत नभएर पनि ठूलो संख्यामा संघीय संसद सचिवालयमा पीसीआर विधिबाट परीक्षण गरिएकोमा टिप्पणीसमेत भएको छ।

नेपालमा हिजोसम्म संक्रमितको संख्या १०१ पुगेको छ। प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २६ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित देखिएका छन्। अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएका छैनन्।

अहिले रुपन्देहीमा तीन, नेपालगञ्जमा २३, धनगढीमा एक, भरतपुरमा एक, वीरगञ्जमा २६ र विराटनगरमा २५ जनाको उपचार भइरहेको छ।

डिस्चार्जपछि पोजिटिभ देखिएका तीनजनाको पनि अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्