किट अभावमा कोभिड-१९ परीक्षण ठप्प

कैलाली। किटको मौज्दात सकिएपछि सुदूरपश्चिममा कोरोना परीक्षण ठप्प भएको छ।

धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी-पीसीआर मेसिनमार्फत कोरोना परीक्षण हुँदै आएको थियो। तर, किट सकिएपछि हिजो पनि पनि नमूना परीक्षण हुन सकेन।

बुधवार जम्मा चार जनाको कोरोना परीक्षण भएको थियो। किट अभावकै कारण चार दिनअघि विभिन्न जिल्लाबाट संकलन गरिएका ५५ जनाको थ्रोट स्वाबको नमूना अलपत्र परेका छन्।

पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुन्छ। पीसीआर किटको मौज्दात भए पनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ।

किटको अभाव भएपछि सेती प्रादेशिक अस्पतालबाट निको भएर घर फर्केकाहरूको समेत पुनः परीक्षण गर्न सकिएको छैन। किट अभावकै कारण नमूना संकलन बन्द गरिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताउँदै आज संघीय सरकारले पठाउने जानकारी आएको बताए।

यसअघि सुदूरपश्चिममा दुई हजार नौ सय २३ जनाको पीसीआर र १४ हजार ६ सय १६ जनाको आरडीटी परीक्षण भएको छ।

प्रदेशमा पाँचजना कोरोना भाइरस संक्रमित देखिएकामा चारजना निको भएर घर फर्किसकेका छन् भने एकजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्