मुम्बईको एउटै जेलमा १०३ जनामा कोरोना भाइरस संक्रमण

मुम्बई। भारतको आर्थिक राजधानी मुम्बईको एउटै जेलमा एक सय तीनजनामा कोभिड-१९ पोजिटिभ पाइएको छ।

मुम्बईको सबैभन्दा पुरानो आर्थर रोड जेलमा ७७ कैदी र २६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो। जेलको ठ्याक्कै सामुन्‍ने रहेको कस्तुरबा अस्पताललाई कोभिड-१९ का लागि नोडल अस्पताल बनाइएको छ।

यस जेलमा करिब दुई हजार कैदी छन्। जेलको क्षमता भने आठ सय कैदीको मात्र हो। सोही कारण यस जेलमा कैदीहरूबीच भौतिक दूरी कायम गर्न असम्भव रहेको स्थानीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्।

‘मनी लन्डरिङ’ मुद्दामा कारागार सजाय सुनाइएका 'यस बैंक'का संस्थापक राणा कपुर पनि हाल सोही जेलमा छन्।

कोरोना भाइरसको संक्रमणमा परेका कैदीलाई मुम्बईको जीटी र जर्ज गरी दुईवटा अस्पतालमा भर्ना गरिएको छ। कर्मचारीलाई अलग्गै अस्पतालमा पुर्‍याइएको छ।

गत बुधबार ४५ वर्षका एक कैदीको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको थियो। त्यसयता दुई सयभन्दा बढीको स्वाब नमूना परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्