बालुवाटारमा ओली-दाहाल छलफल

काठमाडौं। संसद् बैठक शुरु हुनुअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

संसद्को बजेट अधिवेशनअघि संसदीय दलको बैठक बस्‍ने परम्परा छ। तर अहिले कोभिड-१९ को कारणले भौतिक दूरी कायम गर्नुपर्ने भएको उल्लेख गर्दै पदाधिकारीहरूबीच मात्रै छलफल भएको हो।

नेकपाका सचेतक शान्ता चौधरीले दुई पार्टी अध्यक्षसहित संसदीय दलका पदाधिकारीबीच छलफल भएको जानकारी दिइन्। “बजेट अधिवेशनअघि के कसरी जाने भन्‍ने विषयमा छलफल भएको हो,” उनले देखापढीसँग भनिन्, “बजेटका विषयमा पार्टीभित्र आन्तरिक सल्लाह गर्न बालुवाटारमा छलफल भएको हो।”

छलफलमा नेकपामा महासचिव विष्‍णु पौडेल, उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्‍ट्रियसभामा संसदीय दलका नेता दीनानाथ शर्मा सहभागी थिए। बजेट अधिवेशनमा दलका सांसदहरूलाई संसद्‍मा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिने विषयमा निर्णय भएको छ।

यसैबीच सामूहिक छलफल सकिएलगत्तै दुईजना अध्यक्षबीच केहीबेर छुट्टै कुराकानी भएको छ। छलफल सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

यस्तै दुई नेताबीच पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान कसरी गर्न भन्‍ने विषयमा पनि छलफल भएको छ। दुई अध्यक्षबीच अहिले बजेट, नीति तथा कार्यक्रममा केन्द्रित हुने र लगत्तै स्थायी समितिको बैठक आह्वान गर्ने विषयमा पनि छलफल भएको बुझिएको छ।

२० वैशाखमा बसेको नेकपा सचिवालय बैठकले हिजो स्थायी कमिटी बैठक आह्वान गरेको थियो। तर २४ वैशाखमा बसेको सचिवालयको बैठकमा स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने अजेन्डाको काम नसकिएपछि तत्कालका लागि बैठक स्थगित भएको थियो।

नेकपामा दाहाल-नेपाल समूहले स्थायी समितिको बैठक तत्कालै बस्‍नुपर्ने माग राख्दै आएको छ। हिजो बैठक नबसे पनि स्थायी समितिको बैठक माग गर्ने नेताहरू पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्