संसद्मा देउवाको माग- 'महामारी प्रभावितका लागि राहत घोषणा गर'

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को संकटबाट प्रभावित भएकाहरूलाई राहत दिन नसकेको बताएका छन्।

आजदेखि शुरू भएको संसद्को बजेट अधिवेशनमा बोल्दै सभापति देउवाले सरकारले प्रभावितहरूका लागि उचित प्याकेज ल्याउन नसकेको बताएका हुन्।

उनले तत्कालै प्रभावितहरूका लागि राहत प्याकेजको कार्यक्रम ल्याउन माग गरेका छन्।

यस्तै समयमा स्वास्थ्य सामाग्री खरिद नगर्नु, खरिद प्रक्रिया पनि पारदर्शी नभएकाे भन्दै दोषीहरूलाई पदमुक्त गरेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

कोभिड-१९ को संक्रमणका बेला दुईवटा अध्यादेश ल्याएर अलोकतान्त्रिक काम गरेकाे देउवाकाे भनाइ छ।

उनले विश्वव्यापी महामारीबाट विश्वभर मृत्यु भएकाहरूलाई श्रद्धाञ्जलीसमेत व्यक्त गरे। साथै नेपालमा रहेका संक्रमित र विश्वका विभिन्न ठाउँमा रहेका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे

देउवाले पर्याप्त स्वास्थ्य उपकरणको अभावमा फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको उच्च मूल्यांकनका साथ प्रशंसा गरेका छन्।

कोभिड-१९ नियन्त्रण रोकथामका लागि पार्टीले काम गरिरहेको उनकाे भनाइ छ।

उनले सरकारलाई कोभिड-१९ मा पूर्ण समर्थन रहने बताएका छन्।

उनले भ्रष्टाचार, आर्थिक अनियमिततामा आँखा चिम्लन नसकिने बताए। कोभिड-१९ को संक्रमण भइरहेका बेला सरकार फुटाउने काम गरेको आरोप पनि उनले लगाए।

उनले सांसद् अपहरण गर्नेलगायतको काम भएको भन्दै संलग्नलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न माग पनि गरेका छन्।

सरकारले परीक्षण दायरा बढाउन नसकेको भन्दै उनले दायरा बढाउन आवश्यक रहेको बताए। विदेशमा बिचल्लीमा परेका नागरिकको उद्धारको कुनै कार्यक्रम नल्याइएको उनको आरोप छ।

अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्नु सरकारको दायित्व भएको भन्दै यसबारे तत्काल पहल थाल्न उनले सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्