विश्व अर्थव्यवस्था सन् १९३० को जस्तै संकटमाः आईएमएफ

वासिङ्टन। अन्तर्राष्‍ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्‍व अर्थव्यवस्था सन् १९३० कै जस्तो संकटमा परेको बताएको छ।

“सन् १९३० को महामन्दीपछि विश्‍वको अर्थतन्त्रमा सबैभन्दा खराब गिरावट आउँदैछ,” आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले भनिन्, “कोरोना भाइरसले संसारलाई ऐतिहासिक संकटमा पार्दैछ।”

कोभिड-१९ को महामारी लामो समय बाँकी रह्यो भने उत्पन्‍न हुने संकटलाई सम्हाल्ने विषय सरकार र केन्द्रीय बैंकहरूका लागि असली परीक्षा हुने जर्जिभाको भनाइ छ।

अमेरिका र चीनबीच जारी ‘ट्रेड वार’प्रति आपत्ति जनाउँदै उनले यसबाट कोभिड-१९ को महामारीबाट अर्थव्यवस्थालाई बचाउने प्रयास कमजोर हुने बताइन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार हालै अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ को महामारी रोक्न नसकेको दाबी गर्दै अब नयाँ प्रकारको कर लगाएर चीनलाई त्यसको सजाय दिने बताएका थिए। अमेरिका-चीन ट्रेड डिलको पहिलो चरण अन्त्य गर्न सक्ने संकेत पनि उनले दिएका थिए।

एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै जर्जिभाले भनिन्, “सन् २०२० मा विश्‍व अर्थतन्त्रमा तीन प्रतिशतको कमी आउने अनुमान थियो तर कतिपय मुलुकमा त्यसभन्दा कमजोर अवस्था देखिएको छ।”

प्रतिक्रिया दिनुहोस्