आत्मनिर्भर बनिसकेको व्यवसाय पोल्ट्री, यसरी हुँदैछ धराशायी

काठमाडौं। भक्तपुरका कुखुरा पालक कृषक डा. बलराम किसीले नेपालको पोल्ट्री व्यवसायमा अहिलेको जस्तो संकट पहिले कहिल्यै देखेका थिएनन्।

३५ वर्षदेखि कुखुरापालन व्यवसायमा लागेका उनका अनुसार भूकम्पको समयमा केही समस्या भए पनि कोभिड-१९ महामारीले जस्तो समस्या सिर्जना भएको थिएन।

आफ्नो फार्ममा २० हजार ब्रोइलर प्यारेन्ट कुखुरा पाल्दै आएका किसीले अहिले बैंकको ब्याजसमेत तिर्न सकेका छैनन्।

खोरमा भएका कुखुराले उत्पादन गर्ने अण्डा नष्‍ट गर्दै आएको र श्रमिकलाई तलब दिनसमेत समस्या भएको उनको गुनासो छ।

भूकम्प र नाकाबन्दीको समयमा कुखुरापालन व्यवसायमा केही समस्या भए पनि अहिलेको जस्तै समस्या कहिल्यै नआएको उनले बताए।

भूकम्पबाट फार्म नभत्किएका कृषक तथा ह्याचरी उद्योगीहरूले परकम्प रोकिएसँगै आफ्नो कामलाई निरन्तरता दिएका थिए। र, भूकम्पमा नमरेका कुखुराले विस्तारै बजार पाएका थिए।

त्यसयता नेपालको पोल्ट्री व्यवसायले थप फड्को मार्दै ठूलो लगानी र धेरै संख्याका कृषकलाई आकर्षण गर्‍यो र उत्पादन बढ्दै गयो।

विगतमा सरकारले पटक-पटक पोल्ट्री व्यवसायमा आत्मनिर्भर बन्‍ने नारा दियो। सरकारको योजना सुनेर आफ्नो लगानी विस्तार गर्दै गएका किसीजस्तै धेरै नेपाली यस क्षेत्रमा आबद्ध हुँदै गए।

त्यसैको प्रभावस्वरूप केही वर्षयता नेपाल पोल्ट्री व्यवसायमा पूर्ण रूपमा आत्मनिर्भर बनेको छ। त्यससँगै, नेपालमा खपत हुने मासु र अण्डामा भारतसँगको परनिर्भरतासमेत हट्यो।

तर, कोभिड-१९ को विश्‍वव्यापी महामारीका कारण वर्षौंको मिहिनेत र लगानीले खडा भएको नेपालको पोल्ट्री उद्योग केही महिनामै ढल्ने जोखिममा पुगेको छ।

पोल्ट्री व्यवसायले नाफा कमाउँदै गएपछि ठूला घरानाको आँखासमेत यस क्षेत्रमा परेको थियो। लगानी विस्तार हुँदै गएको कुखुरापालन व्यवसाय पछिल्लो समय संकटमा परेको छ।

यो महामारी शुरु हुनुअघि दैनिक २२ करोड रुपैयाँ बराबरको मासु, अण्डा, चल्ला र कुखुराका लागि आवश्यक दाना खरिद-बिक्री हुँदै आएको पोल्ट्री व्यवसायमा अहिले कारोबार ८० प्रतिशतले घटेको व्यवसायीहरू बताउँछन्।

अहिले मुस्किलले दैनिक चार करोड रुपैयाँबराबरको कारोबार भइरहेको ह्याचरी उद्योग संघका अध्यक्ष टीका पोखरेल बताउँछन्। भन्छन्, “यसअघिको तुलनामा कारोबार ८० प्रतिशतले घटेको छ। त्यसैले पोल्ट्री व्यवसाय उठ्नै नसक्ने गरी मारमा परेको छ।”

नेपाल पोल्ट्री महासंघका अनुसार नेपालको पोल्ट्री व्यवसायमा हाल दैनिक २१ करोड ९५ लाख रुपैयाँ क्षति भइरहेको छ।

मासुका लागि तयार भएका कुखुरामा १५ करोड, अण्डामा तीन करोड ५० लाख र चल्लामा तीन करोड ४५ लाख रुपैयाँ दैनिक रूपमा घाटा भइरहेको महासंघको आकलन छ।

लकडाउनअघि नेपालमा दैनिक आठ लाख किलो मासु उत्पादन हुँदै आएको थियो। यस्तै, दैनिक ५० लाख अण्डा र प्रतिसाता ४२ लाख चल्ला उत्पादन हुँदै आएका थिए।

यस्तै, दैनिक ३५ सय मेट्रिक टन दाना उत्पादन हुँदै आएको थियो। तर, कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा दानाको उत्पादन र कुखुराको बिक्री घटेको छ। बिक्री घटेका कारण चल्ला र अण्डाको उत्पादन विस्तारै घटाउन लागिएको महासंघका अध्यक्ष गुणचन्द्र विष्‍ट बताउँछन्।

क्षतिको विवरण संकलन गर्दै सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोल्ट्री व्यवसायीलाई राहत दिने लक्ष्‍यसहित सातवटै प्रदेशबाट क्षतिको विवरण संकलन थालेको छ।

कृषकले व्यहोरेको क्षतिको विवरण संकलन गरेर राहत प्याकेज घोषणा गर्ने तयारी मन्त्रालयले गरेको छ।

खासगरी, उपत्यकाका अधिकांश मानिस गाउँ फर्किंदा तथा देशभरका होटेल(रेस्टुराँ बन्द हुँदा कुखुराको खपत घटेको छ।

नेपालमा उत्पादन हुने दैनिक आठ लाख किलो मासुमध्ये झण्डै पाँच लाख किलो काठमाडौं उपत्यकामा खपत हुँदै आएको व्यवसायीहरू बताउँछन्।

मन्त्रालयले नेपालका पोल्ट्री व्यवसायीको छाता संगठनहरूबाट क्षतिको विवरण संकलन शुरु गरेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी बताउँछन्।

विवरण संकलन भइरहेकाले कुल क्षतिको आकार हेरेर मात्र राहत प्याकेज घोषणा गरिने उनको भनाइ छ। “हामी क्षतिको विवरण संकलन गरेर दिनुपर्ने राहतको प्रस्ताव तयार गर्छौं,। र, अर्थ मन्त्रालयमा पेश गर्छौं,” उनी भन्छन्, “हामीले गरेको प्रस्तावअनुसार कस्तो राहत ल्याउने भन्‍ने निर्णय अर्थ मन्त्रालयले गर्छ।”

तर, सबै क्षेत्रबाट विवरण आइनसकेको मन्त्रालयले बताएको छ।

व्यवसायीको राहत माग

पोल्ट्री उद्योगमा आबद्ध व्यवसायीहरूले तत्कालै गर्नुपर्ने व्यवस्था र आगामी दिनमा गर्नुपर्ने राहत व्यवस्थाको माग गरेका छन्।

नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघ, दाना उत्पादक संघलगायत पोल्ट्री उद्योगसँगको सहकार्यमा नेपाल पोल्ट्री महासंघले राहतको माग गरेको हो।

मन्त्रालयले क्षतिको विवरण र व्यवस्था गर्नुपर्ने राहतबारे सुझाव दिन भनेपछि महासंघले २२ वैशाखमा आफ्ना माग र सुझाव बुझाएको छ।

व्यवसायीहरूका अनुसार लकडाउन खुलेको दिनदेखि आगामी एक वर्षसम्मको बैंक ब्याज मिनाहा गर्नुपर्ने उनीहरूको माग छ।

अधिकांश व्यवसायीले बैंकबाट ऋण लिएको र तिर्न नसक्ने अवस्था भएका कारणले यस्तो व्यवस्था माग गरेका हुन्। यो व्यवस्था गरे पोल्ट्री उद्योगमा आबद्ध अधिकांश व्यवसायी लाभान्वित हुने उनीहरूको भनाइ छ।

यस्तै, बैंकको स्वीकृत चालू पुँजी बराबरको सम्पूर्ण चालू पुँजीको पुनर्कर्जा दिने व्यवस्था गर्नुपर्ने व्यवसायीहरूको माग छ। यसो नगरे व्यवसायीहरू आफँैले लगानीे गर्ने सम्भावना कम छ।

पोल्ट्री उद्योगमा आबद्ध व्यवसायीहरूलाई ऋणको पुनर्तालिकीकरण गरी बन्दाबन्दी खुलेको एक वर्षपछि भुक्तानी तालिका शुरु हुने व्यवस्था गरिनुपर्ने बताइएको छ।

यसका साथै, बैंकसँग ऋण नलिएका कृषकहरूको पुनःस्थापना गराउनका लागि चल्लाहरू (ब्रोइलर, लेयर्स तथा कलर ब्रोइलर) एकपटक अनुदानमा दिनुपर्ने सुझाव व्यवसायीहरूले दिएका छन्।

यस्तै, बन्दाबन्दीको अवधिभर हुने चल्ला उत्पादनको (पशु सेवा विभागको चल्ला बिक्री स्वीकृतीको आधारमा) लागत मूल्यको दरले ब्रोइलर र कलर ब्रोइलरमा ५५ रुपैयाँ प्रतिगोटा र लेयर्समा ९५ रुपैयाँ प्रतिगोटाका दरले क्षतिपूर्ति उपलब्ध गराउन समेत उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस्