काठमाडौं उपत्यकामा आजदेखि तोकिएको समयमा मात्र गाडी चलाउन पाइने

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशाखा, उद्योग वाणिज्य विभागका पदाधिकारीहरूको हिजोको संयुक्त छलफलले आजदेखि सवारीसाधन सञ्चालनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार निर्माण सामाग्री बोकेका ठूला सवारीसाधन उपत्यका भित्र राति ८-६ बजेसम्म प्रवेश गरिसक्नुपर्ने समय तोकिएको छ। अन्य समयमा सञ्चालनमा रोक लगाउने निर्णय भएको छ।

एक तिहाइ कर्मचारीको मात्रै उपस्थिति हुने गरी सञ्चालन गर्न भनेका कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेभित्रमा कार्यालयमा पुगिसक्नुपर्ने एसएसपी ढकालले जानकारी दिए।

“बैंक, वित्तीय संस्थाका कर्मचारीहरू फर्किँदा दिउँसो साढे ३ देखि साढे ५ बजे सम्म फर्किसक्नुपर्छ”, उनले भने, “सरकारी कार्यालयको हकमा भने बेलुका ५ देखि ६ बजेको समय निर्धारण गरिएको छ।”

तरकारी, फलफूल, खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सवारीसाधन बिहान १० बजेसम्ममात्रै सञ्चालन हुन पाउने छन्। पानी, स्वास्थ्यसम्बन्धी अत्यावश्यक क्षेत्रका सवारीसाधनका हकमा भने समय निर्धारण गरिएको छैन।

“पास भएकाहरूको हकमा पनि विशेष जाँच गरेर कुन प्रयोजनका लागि हिडेको सबै हेरेर मात्रै गुड्न दिइने छ”, उनले भने, “बिना प्रयोजन पास देखाएर सडकमा गुड्न सवारीसाधन भोलिदेखि नै नियन्त्रणमा लिने र पास थुतिने छ।”

प्रतिक्रिया दिनुहोस्