चीनले नेपाललाई करीब साढे दुई अर्ब रूपैयाँको सैन्य सामग्री दिने

काठमाडाै‌ । चीनले नेपाललाई करीब साढे दुई अर्ब रूपैयाँ बराबरको सैन्य सामग्री दिने सम्झौता भएको छ ।

चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वी फेंहीबीच आज बेइजिङमा मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध गराउने सम्झौता भएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले २५–२६ असोज २०७६ मा गरेको नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा यस्तो सहायता उपलब्ध गराउने प्रस्ताव गरेका थिए । त्यही प्रस्ताव अनुसार आज नेपाल र चीन सरकारबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणका आधारमा प्रोटोकलमा समझदारी गरेर आगामी तीन वर्षको अवधिमा यी सहयाता सामग्री नेपाललाई हस्तान्तरण गरिनेछ ।

रक्षामन्त्रीको गत वर्षको चीन भ्रमणका क्रममा पनि नेपाली सेनालाई यही रकम बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्