कोभिड-१९ पोजिटिभ देखिएका हाइटीका नागरिकलाई स्वदेश फर्काउँदै अमेरिका

वासिङ्टन। कोभिड-१९ पोजिटिभ देखिएका हाइटीका करिब एक सय नागरिकलाई आज स्वदेश फर्काइँदैछ। उनीहरूको पुनः परीक्षण पनि गरिएको छैन।

तीमध्ये पाँचजनामा हालै कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकास्थित अधिकारवादी संघसंस्थाले त्यस कदमको विरोध गरिरहेको अलजजिराले उल्लेख गरेको छ।

डिपोर्टेसनको प्रक्रियामा रहेका स्टेफनी एटिनीले दिएको जानकारीअनुसार पुनः परीक्षणका लागि सरकारले कुनै चासो दिएको छैन।

बोस्टोनस्थित इन्स्टिच्युट फर जस्टिस एन्ड डेमोक्रेसी इन हाइटीले आफ्नो मुलुकका नागरिकलाई अमेरिकाले जबर्जस्ती स्वदेश फर्काउँदै गरेको पुष्‍टि गर्‍यो।

“अमेरिकाले किन यसो गरिरहेको छ भन्ने बुझ्‍न सकिएन,” स्टेफनीले भने, “अमेरिकामै जन्मेर कहिल्यै हाइटी नटेकेका मानिसलाई किन डिपोर्ट गर्न लागिएको हो ?”

उनीहरूलाई अमेरिकाबाट निकाला गर्नु कोरोना भाइरसको प्रसारविरुद्ध तयार भएको अन्तर्राष्‍ट्रिय स्वास्थ्य गाइडलाइनको ठाडो उल्लंघन भएको अधिकारवादी संघसंस्थाको भनाइ छ।

हाइटीको राष्‍ट्रिय प्रयोगशालाका निर्देशक डा. ज्याक्स बोन्सीले पनि अमेरिका सरकारको उक्त निर्णयले पूरै हाइटीलाई जोखिममा पारिदिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्