कपिलवस्तुका १० जना संक्रमित : मुम्बईबाट फर्केर लुकिछिपी नेपाल आएका थिए

काठमाडौं। कपिलवस्तुमा आज संक्रमित भेटिएका १० जना पुरुषहरु सबै दशदिन अघि भारतको महाराष्ट्रको मुम्बई शहरबाट आएको खुलेको छ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले उनीहरू सबै १० दिनअघि मुम्बईबाट आएको देखापढीलाई बताए।

यसअघि संक्रमित पुष्टि भएका ५ जना युवक पनि भारतको मुम्बईबाट नै नेपाल भित्रिएका थिए। आज संक्रमित १० जना पनि लुकिछिपि रातिको समयमा भारतबाट नेपाल प्रवेश गरेका हुन्।

नेपालीका अनुसार आज संक्रमित पुष्टि भएकामध्ये दुईजना बुद्धभूमि नगरपालिका वडा नम्बर ७ र १० का र बाँकी ८ जना यशोधरा गाउँपालिका-५ का छन्।

रातिको समयमा लुकेर नेपाल प्रवेश गरेको थाहा पाएलगत्तै उनीहरूलाई नजिकैको क्वारेन्टाइनमा राखिएको थियो।

“केन्द्रबाट आएको टोलीले केहीदिन अघि २९० जनाको स्वाबको नमूना संकलन गरेर लगेको थियो”, उनले भने, “तीमध्ये आजसम्म ९९ जनाको परीक्षण भएको र त्यसमा १० जनामा संक्रमण देखिएको पुष्टि भएको छ।”

सहायक प्रजिअ नेपालीका अनुसार थप १९१ जनाको नमूना परीक्षण हुन बाँकी रहेको छ।

यसअघि पनि सोही क्षेत्रका ६५ जनाको नमूना संकलन गरिएको थियो। तीमध्येका पाँचजनामा संक्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कोभिड १९ पुष्‍टी भएकाहरूमा १८, १९, २४, ३०, ३१ वर्षका एक/एक र २० र ३४ वर्षका दुई/दुईजना छन् भने अर्का एकजनाको उमेर खुलेको छैन।

संक्रमित सबैजना पुरुष हुन्। यो सँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ।

अहिलेसम्म ३१ जना निको भएर घर फर्किसकेका छन्। आज संक्रमित भेटिएका सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

कपिलवस्तुमा आज संक्रमित भेटिएका १० जनालाई रुपन्देहीमा रहेको बुटवल कोरोना अस्पतालमा लैजाने तयारी भइरहेको छ।

भारतको मुम्बई कोराना संक्रमणको दृष्टिले निकै जोखिमपूर्ण छ। त्यहाँ रहेका नेपालीहरु रातारात हिडेरै नेपालको सीमासम्म पुग्ने र लुकिछिपि नेपाल प्रवेश गर्न थालेका छन्।

त्यहाँबाट आएका सबैमा कोरोनाको संक्रमण देखिन थालेपछि त्यसले नेपालमा थप चुनौति थपिएको छ।

पढ्नुहोस् कपिलवस्तुमा एकै दिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

प्रतिक्रिया दिनुहोस्