नेकपा नेता नेपालको सुझाव- 'भारतीय पक्षसँग तत्काल भिडिओ कन्फ्रेन्समार्फत् कुराकानी गरौं’
काठमाडौं। सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमिमा सडक बनाएको विषयमा भारतीय पक्षसँग तत्काल भिडिओ कन्फरेन्सको माध्यमबाट कुराकानी गर्न माग गरेका छन्।

आज प्रतिनिधी सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले भारतलाई नेपालको विवादित भूमिमा कुनै पनि विकास निर्माणको काम नगर्न आग्रह गर्नुपर्ने धारणा राखे।

"विवादित ठाउँमा किन अनावश्यक काम गर्ने ? तथ्यले बताउँछ नेपालको पश्चिम सीमा लिम्पियाधुरामा पर्छ", नेता नेपालले भने।

उनले सरकारलाई अविलम्ब नेपालको नयाँ नक्सा प्रकाशन गर्न पनि सुझाव दिए। सँगै उच्च तहमा वार्ता गर्ने सुझाव पनि दिए। भने, "पहिला हामीले सम्पूर्ण भू-भाग सहितको नयाँ नक्सा प्रकाशन गर्नुपर्छ।" उनले विद्यालयको पाठ्यपुस्तकमा पनि नयाँ नक्सा राख्नुपर्ने बताए।

उनले सधैँभरी विवाद कायम गर्नुभन्दा दीर्घकालीन समाधानका लागि काँडेतार लगाउन सकिने उपाय पनि सुझाए। "सँधैभरी विवाद गर्नुभन्दा दीर्घकालीन उपाय के हुन्छ? काँडेतार लगाएर हुन्छ कि पर्खाल खडा गरेर हुन्छ समाधान खोज्नु राम्रो हो", नेता नेपालले भने।

भारतीय पक्षले गर्ने गतिविधीकै कारण नेपाली जनतामा भारतप्रति आक्रोश बढेको समेत उनले जिकिर गरे । नेता नेपालले भने, "भारतीय शासकहरू हामीसँग नेपालमा भारत विरोधी भावना बढेकोमा चिन्ता व्यक्त गर्छन्। भारतीय पक्षकै कारण यस्तो भइरहेको छ। नेपाली जनता उद्वेलित छन्, आक्रोशित पनि छन्। भावना भड्किएको छ। भारत विरोधी भावना पनि बढिरहेको छ। त्यसैले कोरोना भाइरसको प्रकोपको नाममा कुराकानीको समय पन्छाउने काम छैन।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्