निकुञ्जमा रात्रिकालीन जीप सफारीः वन्यजन्तु मास्‍ने बुद्धि !
काठमाडाैं। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सौराहा भन्नसाथ जीप सफारी चर्चामा आइहाल्छ।
सौराहाको पर्यटन व्यवसायमा जीप सफारी निकै गहिरोसँग जोडिएको पनि छ। र, यो पर्यटन व्यवसायीको कमाइको प्रमुख स्रोतमध्ये एक बनेको छ। तर, यसरी जंगलबीचमा जीप चलाउनु कत्तिको उचित हो भन्ने बहस निरन्तर चल्दै आएको पनि छ।
यही बहसकै बीच सौराहाका होटल व्यवसायी भने रात्रिकालीन जीप सफारीको तयारीमा लागेका छन्।
पर्यटकलाई आकर्षित गर्न र उनीहरूको बसाइँ लम्ब्याउन रात्रिकालीन सफारी चलाउन थालेको व्यापारीहरु बताउँछन्।
क्षेत्रीय होटल संघ सौराहा, चितवनका अध्यक्ष दीपक भट्टराईले रात्रिकालीन जीप सफारीको अध्ययन भइरहेको बताए।
“सम्भवतः तिहारपछि नै नाइट जीप सफारी हुनेछ,” भट्टराई भन्छन्।
अनुमति पाएमा प्याकेज नै बनाएर रात्रीकालीन जंगल सफारी गर्ने योजनामा व्यापारीहरू छन्।
भट्टराईका अनुसार स्वीकृति मिलेमा सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म जीप सफारी हुनेछ।
सफारीका रुट निर्धारण गर्दै विभिन्न सरोकारवाला निकायसँग छलफल भइरहेको उनी बताउँछन् ।
अहिले भइरहेको तयारी अनुसार साँझ ५–६ बजेदेखि ८–९ बजेसम्म सफारी हुनेछ।
होटल व्यवसायीहरू र कुमरोज मध्यवर्ती सामुदायिक वनका केही पदाधिकारीले रातको समयमा जंगल सफारी गर्ने छलफल गरिरहेका छन् । उनीहरू जंगली जनावरलाई असर नपर्ने गरी जीप सफारी गर्ने बताउँछन्।
“करिब ३४ किलोमिटरको रात्रिकालीन जंगल सफारी हुनेछ,” कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठ भन्छन्, “होटल व्यवसायीले पहल थालेका हुन्, हामीले पनि सहयोग गर्नुपर्छ भनेर लागेका छौं।”
रात्रिकालीन जीप सफारी सञ्चालनले वन्यजन्तुको चोरी शिकारी समेत नियन्त्रण हुने उनीहरूको तर्क छ।
“मध्यवर्ती क्षेत्रमा जीप चलाउने हो, यसले चोरी शिकार नियन्त्रणमा टेवा पुग्छ,” क्षेत्रीय होटल संघ सौराहा, चितवनका अध्यक्ष भट्टराई भन्छन्, “३ देखि ४ वटा जीप जानेछन्, त्यसमा सकेसम्म एक जना सैनिक राख्ने भन्ने तयारी छ।”
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती कुनै हिसाबले पनि रात्रिकालीन जीप सफारी उचित नहुने बताउँछन्।
“कोही सुतेको बेला कन्सिरीको रौँ तान्यो भन्ने कत्तिको रिस उठ्छ,” रुपाखेती भन्छन्, “हो, रात्रीकालीन जीप सफारीको पनि वन्यजन्तुमा त्यस्तै असर पर्छ।”
रात्रिकालीन जीप सफारीको विषयमा निकुञ्ज भने अहिलेसम्म मौन रहेको उनको भनाइ छ ।
पर्यटन प्रवर्द्धन गर्ने भन्दैमा वन्यजन्तुको बासस्थानलाई असर पर्ने गरी कुनै पनि कार्य सञ्चालनमा ल्याउन नहुने संरक्षणविद्हरू बताउँछन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठ रातको समयमा जीप सफारी हुनै नसक्ने बताउँछन्।
“रातको समय वन्यजन्तुको आरामको समय हो”, श्रेष्ठ भन्छन्, “दिउँसोको जंगल सफारीले पनि वन्यजन्तुलाई असर परेको छ कि भनेर अध्ययन भइरहेका बेला रातको समयमा जीप सफारी हुन सक्दैन।”
रातमा अधिकांश आहारा प्रजातिका जन्तु आराम गर्छन् भने मासांहारी जनावर हिँडडुल गर्छन्। रात्रीकालीन सफारी चलाउँदा मांसाहारी जीवको आवतजावत नै रोकिन्छ।
संरक्षणविद्हरू यस्तो योजना सही बुद्धिले भने नगर्ने बताउँछन्।
यद्यपि यस विषयमा विभागमा भने केही कुरा नआइसकेको विभागका सूचना अधिकारीसमेत रहेका उपसचिव श्रेष्ठ बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्