५० दिनपछि खुल्दै शेयर बजार
काठमाडौं। लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ।

११ चैतदेखि लकडाउन भएसँगै दोस्रो बजार बन्द भएको थियो।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले आजदेखि शेयर बजार सञ्चालनमा ल्याउने जानकारी दिए।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो। बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५०औं दिनमा खुल्न लागेको हो।

बोर्डमा २६ वैशाखमा सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोबारलाई दैनिक दुई घण्टा (बिहान ११ देखि दिउँसो १ बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

बोर्डका अनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गरिएको छ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरूपमा आईपीएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरूपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ। नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गरिनेछ।

धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्