कोभिड-१९ : इन्डोनेसियामा ‘राइस एटीएम’

जाकार्ता। कोरोना भाइरसको संक्रमणबाट जोगिन विश्‍वभरका मानिस भौतिक दूरीमा बसेका छन्। तर, अत्यावश्यक वस्तुको खरिद-बिक्रीमा त्यस्तो भौतिक दूरी उल्लंघन पनि हुँदै आएको छ।

इन्डोनेसियामा भने मानिसबीच भौतिक दूरी कायम राख्‍न मेसिनको सहारा लिइन थालेको छ। त्यो पनि ‘राइस एटीएम’मार्फत।

अलजजिराका अनुसार लकडाउन पालना गरेर घरभित्रै बसेका मानिसलाई चामल खरिदका लागि बजारमा भेन्डिङ मेसिनको व्यवस्थापन गरिएको हो।

भेन्डिङ मेसिनमा राम्रो गुणस्तरको चामल राखिएको छ। र, मानिसले म्याग्‍नेटिक कार्डको मद्दतबाट उक्त चामल आफ्नो झोलामा हाल्न सक्छन्।

जाकार्ताको बाहिरी क्षेत्रस्थित सैन्य शिविरका अधिकारी इब्राहिमका अनुसार दैनिक डेढ टन चामल भेन्डिङ मेसिनमा राख्‍ने गरिएको छ, जुन करिब एक हजार परिवारले खरिद गरेर लैजान्छन्।

सेनाले हरेक दिन यसरी नै मानिसलाई चामल पुर्‍याइरहेको छ। सप्ताहन्तमा पनि वितरण रोकिँदैन।

खासगरी, दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरूका लागि भने सरकारले यस्तै भेन्डिङ मेसिनमार्फत निःशुल्क रासन उपलब्ध गराइरहेको छ। गरिबीको रेखामुनि रहेको जनसंख्या यस पाटोमा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्