कपिलवस्तुका ६ संक्रमितलाई बुटवलको कोरोना अस्पताल पठाईंदै

जीतपुर। हिजो साँझ कोरोना पुष्‍टि भएका कपिलवस्तुका ६ जनालाई अहिले बिहान बुटवल पठाउने तयारी गरिएको छ।

उनीहरूलाई बुटवलको कोरोना विशेष अस्पताल पठाइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।

संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कपिलवस्तुको बुद्धभूमिस्थित क्वारेण्टाइनमा बसेका दुई जनामा संक्रमण पुष्टि भएपछि पनि अरुबाट अलग नराखेको भन्दै क्वारेन्टाइनमा बसेका अन्यले असन्तुष्टि जनाएका छन्।

यसैबीच कपिलवस्तुबाट तीन दिनअघि काठमाडौं स्वाब परीक्षणका लागि पठाइएका २९० मध्ये २५२ जनाको नतिजा आउँदा १६ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

हिजो, २९ वैशाख बिहान १० जनाको संक्रमण पुष्टि भएकामा साँझ पुनः ६ जना थपिएका हुन्।

यसअघि मायादेवी र शुद्धोधनका पाँचजना संक्रमितसहित कपिलवस्तुमा कूल २१ जनामा कोभिड-१९ देखिएको छ।

स्वास्थ्य मन्त्रालयबाट कपिलवस्तु जिल्लामा थप स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली आउने भएको छ।

मन्त्रालयले आवश्यक पीसीआर, आरडीटी किटलगायत स्वास्थ्य सामग्रीसहितको विज्ञ टोलीलाई आजै काठमाडौँबाट कपिलवस्तुका लागि पठाउने तयारी गरिरहेको संघीय सांसद एवं पूर्वमन्त्री चक्रपाणी खनालले बताए। रासस

प्रतिक्रिया दिनुहोस्