प्रतिनिधिसभाको शून्य समयमा कोरोना भाइरसले निम्त्याएको समस्याबारे चर्चा

काठमाडौं। प्रतिनिधिसभाको शून्य समयमा आज सांसदहरूले कोरोना भाइरसको परीक्षणका लागि विभिन्न स्थानमा स्वास्थ्य सामग्री अभाव तथा लकडाउनले सर्वसाधारणको दैनिकी कष्‍टकर भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

साथै उनीहरूले भारतलगायत मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गर्न र कृषि उपजको बजार व्यवस्थापन प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद टेकबहादुर बस्नेतले सल्यानमा स्वास्थ्य परीक्षणको काम रोकिएको बताउँदै तत्काल सुरु गर्ने व्यवस्था मिलाउन आग्रह गरे। सांसद दलबहादुर लामाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाल्पा जिल्ला प्रशासन कार्यालयले माग गरेबमोजिमको सामग्री तत्काल पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद तेजुलाल चौधरीले कोभिड-१९ नियन्त्रणका लागि गरिएको लकडाउनले निम्त्याएको समस्या समाधानमा अनुभूति हुने गरी पहलकदमी लिन सरकारसँग आग्रह गरे।

सांसद डिला संग्रौलाले कोभिड-१९ को महामारीअघि नै विदेशमा मृत्यु भएका नागरिकको शव ल्याउन तथा तेस्रो मुलुक र भारतीय सीमामा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउन माग गरिन्।

सांसद दीपकप्रसाद भट्टले भारतमा काम गर्न गएका लाखौं नेपाली संकटमा रहेको उल्लेख गर्दै उनीहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद दुर्गा पौडेलले लकडाउनका कारण किसान बढी मर्कामा परेको उल्लेख गर्दै उनीहरूको मनस्थिति खस्किन नदिन बजार व्यवस्थापन र अनुदानको व्यवस्था मिलाउनुपर्ने बताइन्।

सांसद देवप्रसाद तिमिल्सिनाले गत ५ वैशाखमा आँधीहुरी र असिनाबाट रौतहटको चन्द्रपुर ६, ७, ८, ९ र १० तथा गढीमाई नगरपालिकाका केही वडामा हजारौं बिघामा लगाइएको खेती नष्‍ट भएको उल्लेख गर्दै राहतको व्यवस्था मिलाउन माग गरे।

प्रतिक्रिया दिनुहोस्