आज भेटिएका सबै संक्रमित पुरुष, नेपालमा एकै दिन अहिलेसम्मकै उच्च संक्रमण

काठमाडौं। नेपालमा आज एकै दिनमा अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार जिल्लामा गरेर ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये सबभन्दा धेरै पर्साका ३९ जना छन्। त्यसबाहेक रुपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा एकजना फेला परेका छन्।

योसँगै अहिलेसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या १९१ पुगेको छ।

नेपालमा पहिलो कोरोना पोजिटिभ व्यक्ति भेटिएपछि दोस्रो संक्रमित भेटिन एक महीना लागेको थियो।

त्यसपछि एक वा दुई जनामा मात्र फाट्टफुट्ट संक्रमण पुष्टि भएको थियो।

उदयपुरमा एकै दिन ११ जनामा संक्रमित भेटिएपछि त्यसलाई नेपालगञ्‍जले उछिनेको थियो।

त्यहाँ एकै दिन १५ जनामा संक्रमण देखिएको थियो। त्यसपछि नेपालगञ्‍जलाई उछिनेर एकै दिन पर्सामा १७ जना कोभिड-१९ का बिरामी थपिएका थिए।

हिजो, २९ वैशाखमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

आज भने त्यसको दोब्बरभन्दा पनि धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार आज संक्रमण पुष्टि भएका सबैजना पुरुष छन्। तर, उनीहरु सबैको उमेर भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्