छांगरूमा सशस्त्रको बीओपी राख्न सेनाको हेलिकप्टरमा सुरक्षा अधिकारी दार्चुलातर्फ प्रस्थान

काठमाडौं। दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी क्षेत्रनजिकै छांगरुमा स्थापन गर्न लागिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्‍ट (बीओपी) स्थापना गर्न सुरक्षा अधिकारीहरूको टोली केहीबेरअघि काठमाडौंबाट हेलिकप्‍टरमा त्यसतर्फ उडेको छ।

नेपाली सेनाको हेलिकोप्‍टरमा टोली दार्चुलातर्फ प्रस्थान गरेको हो। दार्चुला पुगेपछि हेलिकप्‍टरबाटै पहिलो चरणमा बीओपीमा रहने २५ जना सशस्त्र प्रहरी र त्यहाँस्थित प्रहरी चौकीका लागि नौजना प्रहरी लगिने छ।

उक्त हेलिकप्‍टरबाटै बीओपीका लागि त्यहाँ आवश्यक हतियार, गोलीगठ्ठा र बन्दोबस्तीका आवश्यक सामाग्री लैजाने छ।

बीओपी स्थापनका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्‍टरमा गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितका सुरक्षा अधिकारीहरू त्यसतर्फ प्रस्थान गरेका हुन्।

यातायातका दृष्‍टिकोणले निकै विकट उक्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्‍टरमार्फत् आवश्यक बन्दोबस्तीका सामान लैजान लागिएको हो। व्यास गाउँपालिका-१ छांगरूमा सशस्त्र प्रहरीको स्थायी बीओपी स्थापना हुनेछ।

गत वर्ष कात्तिकमा भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेदेखि नै त्यस क्षेत्रमा सशस्त्रको प्रहरीको पोष्‍ट राख्‍न माग बढेको थियो। अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राख्‍न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्