कर्मचारीलाई सधैंका लागि ‘वर्क फ्रम होम’ : ट्विटर

सानफ्रान्सिस्को। माइक्रोब्लगिङ ट्‍विटरले आफ्ना कर्मचारीलाई सधैंका लागि ‘वर्क फ्रम होम’को सुविधा दिन सकिने बताएको छ।

अमेरिकाको सानफ्रान्सिस्कोमा ट्‍विटरको मुख्यालय छ। आफ्ना करिब पाँच हजार कर्मचारी मार्च पहिलो सातादेखि नै घरबाटै काम गरिरहेको कम्पनीले जनाएको छ।

हालसम्म भइरहेको काम कार्यालयबाट जस्तै राम्रोसँग भइरहेकाले कर्मचारीहरूलाई घरबाटै काममा संलग्न गराउँदै आएको छ, ट्‍विटरले।

ट्‍विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले आफ्ना कर्मचारीलाई इमेल पठाउँदै भनेका छन्, “केही महीनाले हामी घरबाटै सफलतापूर्वक काम गर्न सक्छौं भन्‍ने देखाएका छन्। त्यसैले यदि हाम्रा कर्मचारीको पद र कामले अनुमति दिन्छ भने सधैंका लागि घरबाटै काम गर्न सक्ने छन्।”

जो कर्मचारी सधैंका लागि घरबाट काम गर्न सक्दैनन्, उनीहरूका लागि आगामी सेप्‍टेम्बरतिर मात्र कार्यालय खुल्ने उनले बताएका छन्। विश्‍वभर ३५ स्थानमा ट्‍विटरका कार्यालय छन्। फेसबुक, गुगललगायत कम्पनीले पनि यस वर्षभर घरबाटै काम गर्न कर्मचारीहरूलाई अनुमति दिएका छन्।

प्रतिक्रिया दिनुहोस्