नेकपाकै सांसदको आरोप- मन्त्री र सांसदले कोरोना सारे (भिडिओसहित)

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण बिडारीले मन्त्री, सांसद र नेताले कोरोना भाइरस सारेको आरोप लगाएका छन्।

राष्ट्रिय सभा सदस्य बिडारीले राहत बाँड्ने नाममा गाउँ-गाउँमा मान्छे जम्मा गरेर मन्त्री, सांसद र नेताहरूले कोरोना संक्रमण फैलाएको आरोप लगाएका हुन्।

राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रूपमा वितरण हुनुपर्ने भएपनि कसैले नपएजस्तो गरी नेताहरू गएर कोरोना संक्रमण फैलाएको उनको आरोप छ।

‘‘नेता हुँ भनेर राहत बाँड्न सुट–टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे। मन्त्री, सांसद र नेताहरूले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे”, आज राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै बिडारीले भने, “राहत भूकम्पको बेलामा बाँड्ने हो। राहत बाढी पीडित भएको बेलामा बाँड्ने हो। अहिलेको राहत स्थानीय सरकारले बाँड्ने हो, अरुले बाँड्ने होइन। स्थानीय सरकारको पनि वडा अध्यक्षले बाँड्ने हो। वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँड्ने हो।’’

राहत वितरणको आधार के हुने ? कुन व्यक्तिलाई राहत दिने ? भन्ने कुरा कानून बनाएर लागू गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ।

अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी, दूध र अण्डा सरकारले किनेर जनताको घरमा पुर्‍याउनुपर्ने बताए।

भारतले नेपाली भूमि अतिक्रण गरेको विषयमा सांसद बिडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको टिप्पणी गरे।

संविधान निर्माणमा बाधा, नाकाबन्दी र सीमानामा मनलाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरान पारेको बिडारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्