प्रधानमन्त्रीले सर्वदलीय बैठकमा भने- ‘पुर्खाले लडेर जोगाएको नेपाललाई हामीले अडेर बचाउनुपर्छ’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाले लडेर बनाएको र बचाएको नेपाललाई अब सबैले अडेर बचाउनुपर्ने बताएका छन्।

आज बालुवाटारमा आफैंले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले अब थप लड्नु जरुरी नरहेको भन्दै विगतमा प्राप्त गरेका उपलब्धिमा दृढ भएर लाग्नुपर्ने धारणा राखेका छन्।

बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीले बैठकमा प्रष्टरूपमा भारत सरकारसँग उच्च तहमा वार्ता गर्न सरकार लागिपरेको जानकारी गराएको पत्रकारहरूलाई बताए।

ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले जनताको एकता र साथबाट नै यो समस्याको समाधान गर्न सकिने भएकाले एकता निरन्तर कायम रहनेमा विश्वास व्यक्त गरेका थिए।

“भारतसँग असल मित्रता चाहन्छु, तर आफ्नो भूमिको रक्षाका लागि पनि उत्तिकै लागिपर्छु। त्यसका लागि कूटनीतिक वार्ताको माध्यमबाट नै अघि बढ्ने हो”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “सरकार यो विषयलाई धरै पर सार्ने पक्षमा नभई छिटोभन्दा छिटो भारत सरकारसँग वार्ता र संवाद गर्न खोजिरहेको छ।”

प्रधानमन्त्री ओलीले भारतसँगको सीमा विवादका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख, पूर्व प्रधानमन्त्री, संविधान सभाका पूर्व अध्यक्षलगायत बैठकमा सहभागी थिए।

बैठकमा सहभागी नेताहरूले अहिले जुन ठाउँको बारेमा विवाद भइरहेको छ त्यो नेपालको भू-भाग भएको भन्दै सरकारले लिएका अडानलाई समर्थन रहेको बताएका थिए।

सरकारले अहिलेसम्म गरेका हरेक प्रयासमा साथ र समर्थन रहने सबै नेताहरुले बैठकमा प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। सर्वदलीय बैठकमा नेताहरूले कोभिड-१९ को संक्रमण बढ्दै गइरहेको भन्दै रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा पनि छलफल गरेका छन्।

बैठकमा परीक्षणको दायरा तीव्र बनाउन तथा विदेशमा अलपत्र रहेर स्वदेश फर्कन चाहने नागरिकका हकमा सुरक्षितरूपले ल्याएर राख्ने विषयमा पनि गम्भीर हुन नेताहरूले सरकारलाई सुझाव दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्