समस्यामा पुष्प व्यवसायी, उत्पादित फूल गाईवस्तुलाई

काठमाडौं। लकडाउनमा उत्पादित फूल बिक्री गर्न नपाएपछि पुष्‍प व्यवसायी समस्यामा परेका छन्।

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेका ४३ वटा क्षेत्रका पुष्‍प व्यवसाय परेन । उत्पादित फूल गाईवस्तुलाई खुवाउनुको विकल्प नभएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्‍ठले बताए।

एसोसिएसनका अनुसार लकडाउनले पुष्‍प व्यवसायमा दैनिक एक करोड २५ लाख रुपैयाँ क्षती हुँदै आएको छ।

यस व्यवसायमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी ४१ हजारभन्दा बढीले रोजगारी पाएका छन्। ४३ जिल्लाका एक हजारभन्दा बढीले व्यावसायिक फूल खेती गर्छन् ।

करिब २० हजार जनाले प्रत्यक्ष र बाँकीले अप्रत्यक्ष रोजगारी पाएको श्रेष्‍ठले बताए ।

नेपालमा उत्पादित फूलले नेपाली बजारको ९० प्रतिशत माग धान्दै आएको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार फूलका बिरुवा पनि सिँचाइ अभावमा सुक्न थालेका छन् ।

लकडाउनमा सवारी आवागमनको अत्यावश्यक पास उपलब्ध नहुँदा सिँचाइ र सामान्य व्यवस्थापनको काम गर्न पनि नपाएको उनीहरूको गुनासो छ।

लकडाउन खुलेपछि पुनः नर्सरी र फार्महरू सञ्चालनमा ल्याउने अवस्था नरहेको श्रेष्‍ठको भनाइ छ। “फार्महरूलाई पुरानै अवस्थामा फर्काउन ठूलो रकम लगानी गर्नुपर्नेछ,” उनले भने।

सरकारले आगामी वर्षमा यस क्षेत्रलाई प्राथमिकतामा नराखे पुष्‍प व्यवसायीहरू पलायन हुने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्