कारोबार खुलेको दुई दिनमै फेरि अनिश्चितकालका लागि बन्द भयो शेयर बजार

काठमाडौं। कारोबार खुलेको दुई दिनपछि नै शेयर बजार फेरि अनिश्‍चितकालका लागि बन्द भएको छ।

धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्‍ज (नेप्से)लाई बजार बन्द गर्न निर्देशन दिएसँगै शेयर बजारको कारोबार फेरि बन्द भएको हो।

डेढ महिनादेखि लगातार बन्द रहेको बजार २९ र ३० वैशाखमा खुलेको थियो।

तर, नेप्से परिसूचक लगातार घटेपछि फेरि बन्द गरिएको हो। कारोबार भएको दुई दिन नै नेप्सेमा नेगेटिभ सर्किट ब्रेक लागेको थियो।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बोर्डको निर्देशन आएपछि आजैदेखि बजार बन्द भएको बताए।

उनले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएपछि बजार बन्द गर्ने निर्णय धितोपत्र बोर्डले गरेको बताए।

“अहिलेसम्म स्थिति नियन्त्रणमा थियो। तर, पछिल्लो दुई दिनमा संक्रमितको संख्या बढेपछि सरकारले पनि लकडाउनलाई कडा गरेको छ। सोही कारण बजार बन्द गरिएको हो,” उनले भने ।

शेयर बजारका लगानीकर्ताहरूले बजार खोल्नुपर्ने माग राखेपछि धितोपत्र बोर्डले कारोबार सञ्‍चालन गर्ने निर्णय गरेको थियो।

तर, कारोबार खुलेको दुई दिन नै नेगेटिभ सर्किट लागेर बजार बन्द भएपछि लगानीकर्ताहरू नै बजार बन्द गराउन लागिपरेका थिए।

यसअघि पनि लगानीकर्ताहरूले नै शेयर बजारको कारोबार बन्द गर्नुपर्ने भन्दै नेप्सेलाई दबाब दिएका थिए।

प्रतिक्रिया दिनुहोस्