कालीमाटी तरकारी बजारमा महानगरले थाल्यो कोभिड-१९ परीक्षण

काठमाडौं। काठमाडौं महानगरपालिकाले कालीमाटी तरकारी बजारमा हिजोदेखि कोभिड-१९ को परीक्षण थालेको छ।

व्यापारी र उपभोक्ताको भीड रहने बजारमा आरडीटी र पीसीआर दुवै परीक्षण शुरु गरिएको हो। त्यसका लागि कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरिएको महानगरले जनाएको छ।

तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीको परीक्षण गरिएको छ।

त्यसक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले पनि परीक्षण गराएकी थिइन्।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार कम जोखिममा रहेका ७० प्रतिशत नागरिकको आरडीटी र जोखिममा रहेका ३० प्रतिशतको पीसीआर परीक्षण गर्ने गरी काम भइरहेको छ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने पाँच सय ५० व्यापारी छन्। सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजार बढी मानिसको आवतजावत हुन्छ।

यस्तै, तरकारी, फलफूल तथा माछा लिएर दैनिक औसतमा एक हजारभन्दा बढी सवारी साधन आउँछन् भने दुई हजारभन्दा बढी मोटरसाइकल आवतजावत गर्छन्। बजारसँग आश्रित पाँच सय मजदुर छन्। बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० सरसफाइ मजदुर छन्। रासस

प्रतिक्रिया दिनुहोस्