विदेशिएका युवालाई देशमै रोजगारी सिर्जना गर्न अग्रसर छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काम र अध्ययनको सिलसिलामा विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न सरकार अग्रसर भएको बताएका छन्।

३१ औं युवा दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले कोरोना संक्रमणको महामारीका कारण स्वदेश फर्कने युवाका लागि रोजगारी सिर्जना सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका छन्।

“कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पंक्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा छौं,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्ने यो अग्रसरताले नेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिबीबाट सम्पन्‍नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने छ।”

विगतमा देशमा रोजगारीका अवसर सिर्जना हुन नसकेको, हिंसात्मक द्वन्द्वले लाखौं नेपाली युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान बाध्य भएको तथा शैक्षिक भविष्य खोज्‍न लाखौं विद्यार्थी देशबाहिर गएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन्।

“विगतमा देशभित्र रोजगारी सिर्जना हुन सकेको भए कोरोना भाइरसको यस विश्‍वव्यापी महामारीले भत्काएको विश्‍व अर्थव्यवस्थाले उत्पन्‍न गरेको भयावह अवस्थाको ठाउँमा हाम्रो आफ्नै उत्पादन प्रणालीले संकटको सामना गर्ने सामर्थ्य राख्‍ने थियो,” उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्