विश्व व्यापार संगठनका महानिर्देशकको अप्रत्यासित राजीनामा, ट्रम्पले भने- ‘उपयुक्त निर्णय’
जेनेभा। विश्व व्यापार संगठन (डब्ल्यूटीओ)का महानिर्देशक रोबर्टो अजिभिडोले पदबाट राजीनामा दिएका छन्।

डब्ल्यूटीओको प्रमुख अजिभिडोले आफ्नो कार्यकाल सकिन एक वर्ष बाँकी रहँदै हिजाे पदबाट अप्रत्यासितरूपमा राजीनामा दिएको न्यूयोर्क टाइम्सले बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचनाको शिकार भइरहने अजिभिडोको कार्यकालको समय सन् २०२१ सम्मको थियो।

चार वर्षे अवधिको दोस्रो कार्यकाल सम्हाल्दै आएका अजिभिडोले ३१ अगस्टदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। उनी विगत सात वर्षदेखि डब्ल्यूटीओको प्रमुखको भूमिकामा थिए।

ब्राजिली अर्थशास्त्री अजिभिडोको नेतृत्वको डब्ल्यूटीओविरुद्ध ट्रम्प प्रशासनले निरन्तर आलोचना गर्दै आएको थियो।

ट्रम्प प्रशासनले अजिभिडोको नेतृत्वमा रहेको व्यापार संगठनले चिनियाँ व्यापार व्यवसायमा चीन सरकारले नियमविपरीत दिइरहेको सरकारी अनुदानलाई आँखा चिम्लेको आरोप लगाउँदै आएको थियो।

अमेरिका र चीनबीचको व्यापार युद्ध जारी रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर परिरहेको समयमा उनको राजीनामा आएको हो।

प्रमखु अजिभिडोले व्यक्तिगत कारण देखाउँदै राजीनामा गर्नुअघि डब्ल्यूटीओको २५ वर्षे इतिहासमा अन्य कुनै प्रमुखले कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिएनन्।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजिभिडोको निर्णय उपयुक्त भएको बताएका छन्।

उनले विश्व व्यापार संगठनले पछिल्लो समय अमेरिकालाई नराम्रो व्यवहार गरिहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्