लकडाउनले राेजगारी गुमाएका श्रमिकका लागि घुम्ती तालिम सञ्चालन गरिने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा सबै स्थानीय तहमा घुम्ती तालिमको व्यवस्था गर्ने भएको छ।

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीपछि रोजगारी गुमाएका श्रमिक लक्षित घुम्ती तालिम शुरू गरिने भएकाे हाे।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै स्थानीय तहमा घुम्ती तालिम सञ्चालन गर्ने बताएकी हुन्।

जसअनुसार, बेरोजगारहरूको सम्भावित संख्यालाई कृषि, साना तथा मझौला उद्योग, पूर्वाधार विकासलगायतका काममा परिचालन गर्न सकिने गरी तालिम सञ्चालन गरिनेछ।

यस्तै, सरकारले नवप्रर्वतन व्यवसाय तथा वैदेशिक रोजगारीबाट फर्किएका सीपयुक्त युवालाई रोजगारी सिर्जना र व्यवसाय गर्न प्रोत्साहन गर्ने गरी पुँजी उपलब्ध गराउने भएको छ।

त्यसैगरी, श्रमिकको क्षमता विकास, बजारीकरण, पुँजी परिचालन गर्नका लागि हाल सञ्चालित कार्यक्रमलाई पुनः संरचना गरेर सबै प्रदेशमा पुर्‍याउने लक्ष्य लिएको छ।

शैक्षिक प्रमाणपत्रका आधारमा निजको इच्छासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने, प्रधानमन्त्री रोजगार परिमार्जन गरेर थप रोजगारमूलक बनाइने भएको छ।

त्यसैगरी, रोजगारदाता र श्रमदाताबीच समधुर सम्बन्ध विकास गरिनेछ। सबै प्रकृतिका श्रम शोषण अन्त्य गरिनेछ।

अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार, वैदेशिक रोजगारमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारीसमेत सरकारले गरेकाे छ।

सरकारले रोजगारी र आयआर्जनका कार्यक्रम सञ्चालन गरेर ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारासहित कार्यक्रम सञ्चालन गर्ने जनाएकाे छ।

उत्पादनशील क्षेत्रका परियोजनाहरूमा विदेशी लगानी प्रोत्साहन गर्ने नीतिसमेत अगाडि सारिएकाे छ।

प्रतिक्रिया दिनुहोस्