पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने सरकारको घोषणा
काठमाडौं। सरकारले झापादेखि कञ्चनपुरसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरेर चार लेनको बनाउने निर्णय गरेको छ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् सरकारले यस्तो निर्णय गरेको हो।

राजमार्गको नारायणगढ-बुटवल खण्डमा चार लेनको सडक निर्माण शुरू भइसकेको भन्दै सरकारले सबै खण्डमा द्रुत मार्गको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

कमला-कञ्चनपुर खण्डको सडक विस्तार कार्य तीन वर्षभित्रमा सम्पन्न गर्ने  सरकारको तयारी छ।

सरकारले आगामी आर्थिक वर्षमा देशैभर ३०० वटा सडक कालोपत्रे गरिने समेत जनाएको छ।

मदन भण्डारी राजमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने गरी आगामी आर्थिक वर्षमा १५५ किलोमिटर कालोपत्रे गर्नुका साथै झापा र धरानमा पुल र सडक निर्माण थालिने नीति तथा कार्यक्रममा उल्लेख छ।

काठमाडौं तराई मधेश द्रूतमार्गको काम अघि बढिरहेको भन्दै सरकारले आगामी तीन वर्षमा सम्पन्न गरिने जनाएको छ। यस सडकमा पर्ने जटिल प्रकृतिका पुल तथा सुरुङ निर्माण आगामी आर्थिक वर्षमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको ३०० किलोमिटर, हुलाकी सडकको २५० किलोमिटर, उत्तरी दक्षिणी कालीगण्डकीको ९० किलोमिटर सडक निर्माण गरिने सरकारले घोषणा गरेको छ।

त्यसैगरी कोशी र कर्णालीमा राजमार्ग निर्माणको ट्रयाक खोल्ने काम शुरू गरिने जनाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्