औद्योगिक पूर्वाधार विकासलाई तीव्रता दिइने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार विकासमा विशेष ध्यान दिने घोषणा गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) पछिको नेपाली अर्थतन्त्रलाई उकास्न सरकारले औद्योगिक उत्पादन बढाउने गरी औद्योगिक पूर्वाधार विकासमा जाेड दिने भएकाे हाे।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरूसँगको सहकार्यमा औद्योगिक ग्रामको स्थापना गर्ने बताइन्।

राष्ट्रपति भण्डारीले स्थानीय आवश्यकता र सम्भावनाका आधारमा धेरैभन्दा धेरै औद्योगिक ग्राम स्थापनातर्फ लाग्ने बताइन्।

बाँकेको नौवस्ता, हेटौंडाको मयुरधाप, झापाको दमक, बुटवलको मोतीपुर, कैलालीको चुहा तथा कञ्चनपुरको दैजी र वेदकोट औद्योगिक क्षेत्र निर्माण कार्यलाई तीव्रता दिइनेछ।

त्यसैगरी, सरकारी स्वामित्वमा रहेको बन्द तथा रुग्ण उद्योगहरूलाई निजी क्षेत्रसमेतको उपस्थितिमा पुनः सञ्चालन गर्ने तयारी सरकारले गरेको छ।

खाद्य, कृषि तथा वनजन्य वस्तुहरूको प्रशोधन, औषधि र स्वास्थ सामग्री तथा स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादनमूलक उद्योगको स्थापनामा प्रोत्साहन गर्ने उल्लेख गरिएको छ।

औद्योगिक व्यवसाय प्रवर्द्धन गर्न राष्ट्रिय उत्पादनका लागि एकीकृत संस्थाको रूपमा सञ्चालन गर्ने, विश्वविद्यालयहरूसँग सहकार्य गरेर विश्वविद्यालयस्तरमा दक्ष जनशक्ति उत्पादनको सीप, तालिम तथा पढाइ शुरू गरिने बताइएको छ।

प्रदेश र स्थानीय तहसँगको समन्वयमा स्थानीय स्रोत र साधानको उपयोग गरेर रोजगारी, कृषि प्रशोधन गर्न लघु, घरेलु साना तथा मझौला उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने तयारी सरकारको छ।

एक बिन्दु सेवा केन्द्रलाई थप विकास गर्ने र स्वदेशी तथा विदेशी लगानीलाई अभिवृद्धि गर्ने बताइएको छ।

कम्पनी दर्ता वा खारेजी प्रक्रियालाई छिटोछरितो बनाइनेछ। नेपालमा उत्पादित वस्तु र आयातित वस्तुको गुणस्तर मापनमा ध्यान दिइनेछ।

प्रतिक्रिया दिनुहोस्