तेस्रो मुलुकसँगकाे व्यापारका लागि चीनका सात बन्दरगाह प्रयाेग गरिने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा चीनका सात बन्दरगाहको प्रयोग गरेर तेस्रो मुलुकसँगको व्यापार गर्ने नीति लिएको छ।

गत वर्ष नेपालले चीनका चार सामुद्रिक बन्दरगाह र तीन स्थल बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न पाउने गरी पहुँच पाएको थियो।

तर, हालसम्म चीनको बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात तथा निर्यात गरिएको छैन।

आज आगामी वर्षको नीति तथा कार्यक्रमको घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष चीनको बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकसँग व्यापार गर्ने बताइन्।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्षमा व्यापारिक पूर्वाधारको विकासमा थप जोड दिने भएको छ।

सरकारले भारततर्फ नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण गर्ने, कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने भएको छ।

यस्तै चीनतर्फ हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलामा व्यापारिक पूर्वाधार विकासको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

साथै रसुवाको टिमरेमा बन्दै गरेको सुक्खा बन्दरगाह आगामी आर्थिक वर्षमा सक्ने र काठमाडौंको चाेभारमा बन्दै गरेको बन्दरगाह आगामी दुई वर्षभित्र सक्ने तयारी गरेको छ।

यसका साथै निर्यात लागत कम गर्न निर्यात गृह स्थापना गर्ने र एक प्रकारका वस्तु उत्पादन गर्ने उद्योगीहरूको समूह बनाएर निर्यातमा प्रोत्साहन गर्ने घोषणा गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्