ओली-दाहालको पार्टी पंक्तिलाई संयुक्त अपील- ‘हामी उच्च जोखिममा छौं, स्वयंसेवी बनेर अग्रभागमा जानूस्’

काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले कोरोना संक्रमणको महामारीविरुद्ध अग्रभागमा स्वयंसेवी बन्न पार्टीका नेता र कार्यकर्तालाई आह्वान गरेका छन्।

रहस्यमय भनिँदै आएको दासढुंगा दुर्घटनामा मारिएका तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवसमा जारी गरेको संयुक्त वक्तव्यमा उनीहरूले यस्तो आह्वान गरेका हुन्।

३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो। यही दिनको सन्दर्भ पारेर दुई वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको थियो। त्यसयता नवगठित पार्टी नेकपाको नेतृत्व ओली र दाहालले गर्दै आएका छन्।

भण्डारी र आश्रितको स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्ष पुगेको दिन स्मरण गर्दै ओली र दाहालले आफ्नो पार्टी पंक्तिलाई कोरोना संक्रमणको महामारीको जोखिम स्मरण गराएका छन्।

“महामारी निकै हदसम्म नियन्त्रित अवस्थामै रहेको भए पनि खुला सिमाना, लकडाउनको पूर्ण परिपालनाको अभाव र हाम्रा कमजोर स्वास्थ्य पूर्वाधारका कारण हामी उच्च जोखिममै छौं,” संयुक्त वक्तव्यमा ओली-दाहालले भनेका छन्, “तसर्थ हामी कोरोना महामारीविरुद्धको यस अभियानमा स्वयंसेवी भावनाका साथ अग्रभागमा उभिएर योगदान गर्न समस्त पार्टीपंक्तिलाई आह्वान गर्दछौं।”

ओली र दाहालले कोरोना महामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र उपचारसँगै यसले सिर्जना गरेको आर्थिक मन्दीसँग सरकारको अगुवाइमा एकताबद्ध भएर जुझ्‍न सबै दललाई अपीलसमेत गरेका छन्।

‘रहस्यमय दासढुंगा दुर्घटनाको अन्वेषण गरिरहन्छौं’

नेकपाका अध्यक्षद्वय ओली र दाहालले २७ वर्ष पहिले भएको दासढुंगा दुर्घटनाको सत्यतथ्य अन्वेषण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

“उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्,” संयुक्त वक्तव्यमा उल्लेख छ, “हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछ।”

प्रतिक्रिया दिनुहोस्