रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)
काठमाडौं। रौतहटमा १२ बर्ष अघि २२ जनाको सामूहिक हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमले अन्ततः सरकारी वकीलसमक्ष बयान दिएका छन् ।
पक्राउ परेको सात दिनसम्म बयान दिन इन्कार गर्दै आएका आलम आठौं दिन, ३ कात्तिकमा जिल्ला सरकारी वकीलको कार्यालय रौतहटमा बयान दिन राजी भएका हुन् ।
बयान करीब चार घण्टासम्म चल्यो ।
आलमले जिल्ला सरकारी वकीलको कार्यालयमा दिएको बयानको प्रतिलिपिमा आफूमाथि लागेका प्रत्येक आरोप अस्वीकार गरेका छन् । जिल्ला सरकारी वकील कार्यालय स्रोतबाट देखापढीलाई प्राप्त बयानको सवाल-जवाफको सम्पादित अंश:
तपाईंको शारीरिक तथा मानसिक अवस्था के कस्तो छ ? बयान गर्न सक्नु हुन्छ/हुँदैन ?
मेरो शारीरिक तथा मानसिक अवस्था ठिक छ । सुगर छ, प्रेसर पनि छ । नियमित औषधि सेवन गरिरहेको छु । प्रश्नको जवाफ दिन सक्छु ।
तपाईं के अभियोगमा कहाँबाट पक्राउ पर्नुभएको हो ?
मलाई मिति २०७६/०६/२६ गते घरबाट विवाहको भोजमा जाँदै गर्दा बिहान करीब ११ बजे राजपुर नगरपालिका वडा नम्बर १ स्थित इद्रिसगेटबाट पक्राउ गरिएको हो । किन पक्राउ गरियो भन्ने मलाई थाहा भएन ।
तपाईंले पक्राउ पूर्जी, थुनुवा पूर्जी बुझ्नु भयो/भएन ?
म विवाह पार्टीमा जाँदै थिएँ । अदालतको आदेश बमोजिमको पक्राउ पूर्जी नभएको कारण बुझेको छैन । अहिलेसम्म कुनै पूर्जी दिइएको छैन ।
तपाईं कति पटक सांसद, मन्त्री हुनुभयो ?
हालसम्म चारपटक निर्वाचित भएँ । २०५४ सालमा पहिलो पटक श्रम सहायक मन्त्री, २०५५ सालमा वन सहायक मन्त्री बनें । २०५६ सालमा स्थानीय विकास राज्यमन्त्री भएँ । २०५७ सालमा वन मन्त्री थिएँ । २०५८ सालमा भूमि सुधार मन्त्री भएँ । २०६५ सालमा श्रम तथा यातायात मन्त्री थिएँ । विद्यार्थी जीवनकालदेखि हालसम्म देश र जनताको सेवा गर्दै आएको छु ।
वारदात भएको भनिएको मिति २०६४/१२/२७ गते तपाईं कहाँ हुनुहुन्थ्यो ? त्यसबेला कुन पार्टीको सरकार थियो ? उक्त सरकारका पदाधिकारीसँग तपाईंको चिनजान थियो, थिएन ? तपाईंको क्षेत्र, गाउँ, घरमा को को पदाधिकारी, नेता आएका थिए ?
घटना वारदात भएको मिति २०६४/१२/२७ गते चुनावको प्रचारप्रसार बन्द भइसकेको थियो, आन्तरिक व्यवस्थापनका लागि कुन गाउँमा कुन पोलिङ एजेन्ट राख्ने हो भनी साथीहरूसँग सरसल्लाह गर्दै थिएँ ।
नेपालमा एकदेखि डेढ वर्षमा सरकार परिवर्तन भइरहन्थ्यो । सो समयमा को कसको सरकार थियो मलाई स्मरण भएन । सरकारकै बारे मलाई स्मरण भएन भने कुन सरकारको पदाधिकारी को थियो, मलाई थाहा भएन ।
उक्त मितिमा प्रचारप्रसार बन्द भएकोले मेरा गाउँ घरमा नेपाली कांग्रेसका कुनै पनि नेताहरू आएका थिएनन् ।
प्रतिवादी मोहम्मद महताव आलम, मोहम्मद मोविन आलम, शेख भदई, शेख सेराजसँग तपाईंको के नातासम्बन्ध पर्छ ?
प्रतिवादी मो.महताव आलम मेरो सहोदर कान्छो भाइ हो । शेख भदई, मोहम्मद मोविन आलम र शेख सेराजलाई चिन्दिनँ ।
बम विस्फोट भएको घटनास्थलको घरमा नयाँ इट्टाहरू जोडेको, छानामा नयाँ पुरानो बाँस लगाएको, नयाँ पुरानो झिंगटी टाली प्रयोग भई छाना छाएको भई वास्तविक घटनास्थल परिवर्तन भएको कुरा मिसिल संलग्न फोटोहरूबाट देखिन्छ । सो सम्बन्धमा तपाईंँको भनाई के छ ?
फोटोहरू देखाउँदा देखें । घटना घटेकै होइन । जब, घटना घटेकै होइन, छैन भने इट्टा परिवर्तन हुने र टाली बाँस परिवर्तन हुने प्रश्नै आउँदैन ।
घटनास्थलबाट मृतक ओसी अख्तरको स्वीटर, हाइनेक, मोजा, जुत्तासमेत बरामद भई परीक्षणका लागि पठाएको देखिन्छ । सो सम्बन्धमा तपार्ईंंको भनाइ के छ ?
त्यो घटना घटेकै छैन भने मान्छे मरेको प्रश्न नै उठ्दैन । स्वीटर, हाइनेक, जुत्ता र मोजा फेला पर्ने अवस्था नै आउँदैन ।
तपार्ईंंको को प्रतिवादीसँग यसभन्दा अगाडि निवेदनसहित प्रहरी कार्यालयमा कुन मिति, कुन समयमा हाजिर भइ कुन मिति समयमा छुट्नु भएको थियो ?
मिति र समय स्मरण भएन, म जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भइ, हाजिर भएकै दिन यही जिल्ला सरकारी वकील कार्यालयबाट बयान सम्पन्न भइ त्यहीं दिन छुटेको हुँ । मेरो यसभन्दा पहिले भएको बयान कायम गरिपाऊँ ।
विभिन्न पत्रपत्रिकाहरूमा तपार्ईंंसमेतले घाइतेहरूलाई जिउँदै, आफन्तको राजा चिम्नी इँट्टा उद्योगमा जलाई हत्या गरेको भन्ने समाचार प्रकाशित भएकोमा सो समाचारको खण्डन तथा सो सम्बन्धमा कुनै प्रतिक्रिया तपाईंहरूले व्यक्त गर्नुभयो कि भएन ?
घटना घटेकै छैन भने कुन पत्रपत्रिकाहरूमा के के लेखेको हो मलाई थाहा भएन । जब घटना घटेकै छैन भने मैले खण्डन गर्नुपर्ने जरूरी नै भएन ।
मानवअधिकार आयोग, इन्सेक नेपाल, नेपाल बार एशोसियसनसमेतको स्थलगत निरीक्षण  पश्चात दिएको प्रतिवेदनमा घटनास्थलको प्रकृति परिवर्तन गरेको, पीडित समेतलाई दबाब–प्रभावमा पारेको, बम विस्फोट भएको भनी उल्लेख भएको छ । सो सम्बन्धमा तपाईंको भनाइ के छ ?
घटना घटेकै होइन । कुन मितिमा कुन टोली आयो, के रिपोर्ट दियो मलाई थाहा भएन ।
मृतक पिन्टु भन्ने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरको सम्बन्धमा तपार्ईंंलाई केही थाहा छ ?
निजहरूलाई चिन्दिनँ । निजहरू कहाँका हुन् थाहा नभएकोले जानकारी राख्नुपर्ने आवश्यक नै छैन ।
मृतक पिन्टु भन्ने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरको मृत्यु दर्ता प्रमाणपत्र प्राप्त भएको छ । यो प्रमाणको आधारमा निजहरूको मृत्यु भएको कुरा तपार्ईंंले स्वीकार गर्नुहुन्छ कि हुन्न ?
बम विष्फोटन भएको भनिएको गोठ, घर को कसले प्रयोग गर्ने गरेको थियो? कसको स्वामित्वमा थियो ?
सो घर कसको हो मलाई थाहा छैन ।
घटनास्थल घरको छानाभित्र लगाएको बाँसको भाटा, दिवाल बाहिर भित्र लगाएको नयाँ गाह्रो, नयाँ तथा पुरानो खपडाले छाएको छानो के कसरी फरक फरक भई छाएको थियो ? किन नयाँ परिवर्तन गर्नु परेको हो ?
घटना घटेकै छैन, सो घर कसको हो थाहा भएन।
तपाईले २०६४ सालको संविधानसभाको चुनाव जित्नको लागि शेष इद्रिशको गोठ घरमा बम स्टोर गरी बम बनाउन लाग्दा बम विष्फोट हुँदा सो विष्फोटनमा परी २ जना मानिसहरूको मृत्यु भएको र ओसी अख्तर मियाँ, पिन्टु भन्ने त्रिलोक प्रताप सिंह समेत १५/१६ जना मानिसहरू घाइते भएकोमा मृतक र घाइतेहरूलाई जुटको बोरामा राखी राजा ईटा उद्योगमा लगी जिउँदै जलाई हत्या गरेको भनी मृतक पिन्टु भन्ने त्रिलोक प्रताप सिंहको बुबा जाहेरवाला श्रीनारायण सिंह राजपुत, मृतक ओसी अख्तर मियाँको आमा रोक्शाना खातुनसमेतले तपाईं समेतको विरुद्धमा किटानी जाहेरी दरखास्त दिएको देखिन्छ । निजहरूलाई चिन्नु हुन्छ, हुँदैन ? जाहेरवाली रोक्शाना खातुनको मृत्यु के–कसरी भएको हो ?
घटना घटेकै छैन। हाल २–४ महिना अगाडि आएर को कसले के–के भने मलाई थाहा छैन। रोक्शाना खातुनलाई चिन्दिनँ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्