लकडाउनको मोडालिटी र अवधिबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाडौं। पर्सि, ६ जेठदेखिको लकडाउनको मोडालिटी र अवधिबारे छलफल गर्न कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बोलाइएको छ।

आज दिउँसो साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक तय भएको उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलको सचिवालयले जनाएको छ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन ११ चैतदेखि जारी लकडाउनको पछिल्लोपटक थपिएको अवधि भोलि, ५ जेठबाट सकिँदैछ।

संक्रमितको संख्या दिनदिनै बढिरहेको र हिजो मात्र कोभिड-१९ बाट एकजनाको मृत्यु समेत भएको सन्दर्भमा आउँदा दिनको सम्भावित भयावह अवस्थाको आंकलन गर्दै लकडाउनको अवधि कति दिन थप्‍ने र मोडालिटी कस्तो हुनेबारे बैठकमा छलफल हुने बताइएको छ।

२ जेठमा समितिले स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेर जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताएका थिए।

आजको बैठकमा लकडाउनको समीक्षा गर्दै कति दिन लम्ब्याउने र स्वरूप कस्तो बनाउने भन्नेबारे समितिले निर्णय गरी सरकारलाई सिफारिस गर्नेछ।

प्रतिक्रिया दिनुहोस्