परिसंघले भन्यो- ‘नीति तथा कार्यक्रममा आर्थिक पुनर्उत्थानका कार्यक्रम समेटिएनन्’

काठमाडौं। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षका लागि घोषणा भएको नीति तथा कार्यक्रममा अल्पकालीन राहत र आर्थिक पुनर्उत्थानका कार्यक्रम नसमेटिएको बताएको छ।

परिसंघले नीति तथा कार्यक्रम सकारात्मक भए पनि निजी क्षेत्रका लागि आवश्यक पर्ने राहतका कार्यक्रमहरू नसमेटिएको बताएको हो।

सरकारले स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेकोमा भने परिसंघले खुशी व्यक्त गरेकाे छ।

परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नीति तथा कार्यक्रमले वर्तमान अवस्थामा कोभिड-१९ ले सिर्जना गरेका स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने प्रयास गरिएको छ।”

यस्तै रोजगारी सिर्जना र कृषिमा जोड दिने सरकारको नीति सकरात्मक रहेको बताइएको छ।

यसका साथै, नेपालको निजी क्षेत्रलाई बचाउन आर्थिक पुनर्उत्थान कार्यक्रम ल्याउने घोषणा महत्त्वपूर्ण रहे पनि राहत तथा पुनर्उत्थानमा केन्द्रित भएर विस्तृत कार्यक्रम नआएको बताएको छ।

परिसंघले अल्पकालीन राहत तथा पुनर्उत्थानका लागि कूल गार्हस्थ उतपादनको कम्तीमा करीब ५ प्रतिशत रकम विशेष प्रभावित क्षेत्रलाई हस्तानान्तरणको व्यवस्था गरिनुपर्ने भनेको छ।

तर, निजी क्षेत्रले दिएको सुझावअनुसार सरकारले निजी क्षेत्र र देशको अर्थतन्त्र चलायमान बनाउनतर्फ पर्याप्त ध्यान नदिएको परिसंघ बताउँछ।

खासगरी, निजी क्षेत्रले आर्थिक पुनर्उत्थानको राष्ट्रिय संकल्प घोषणा गरेर अर्थतन्त्रमा क्षति कम गराउन अल्पकालीन राहत र आर्थिक पुनर्उत्थानका कार्यक्रम ल्याउन सुझाव दिएको थियो।

यद्यपि नीति तथा कार्यक्रममा नसमेटिए पनि बजेटमा उक्त सुझावहरू समेटिनेमा परिसंघले आशा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्