निजी क्षेत्रका सुझाव बजेटमा समेट्न उद्योग वाणिज्य महासंघको माग

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रबाट प्राप्त सुझाव बजेटमा समेट्न माग गरेको छ।

महासंघले आज जुममार्फत भर्चुअल कार्यक्रम आयोजना गरेर बजेटमार्फत निजी क्षेत्रलाई राहत मिल्ने खालका कार्यक्रम ल्याउन अनुरोध गरेको हो।

निजी क्षेत्रले दिएका सुझाव आगामी वर्षको नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो गर्दै महासंघले बजेटमा समेट्न अनुरोध गरेको छ।

महासंघकी अध्यक्ष भवानी राणाले नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई समेट्ने खालका विस्तृत कार्यक्रम नराखेको गुनासो गरिन्।

भनिन्, “हामीले निजी क्षेत्रलाई महामारीबाट बचाउनका लागि सरकारलाई सुझाव दिएका थियौं। तर, सरकारले त्यसलाई नीति तथा कार्यक्रममा समेटेन।”

देशमा झण्डै ३५ लाख जनशक्तिलाई रोजगारी दिएको निजी क्षेत्रलाई राहत दिने गरी कार्यक्रम नसमेट्दा उद्योग व्यवसाय चलाउन समस्या हुने बताइन्।

यस्तै, उनले लकडाउनमा उद्योग खोल्ने गरी निर्णय भए पनि तीन तहका सरकारको समन्वय नहुँदा उद्योग सञ्‍चालन गर्न नसकिएको बताइन्।

बजेटमार्फत विद्युत महशुलमा छुट तथा बैंकको ब्याज पाँच प्रतिशतमा सिमित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने महासंघको भनाइ छ।

लकडाउन अवधिको विद्युत महशुल छुट दिनुपर्ने पनि महासंघको माग छ।

प्रतिक्रिया दिनुहोस्