कांग्रेस नेता पाैडेलले भने- ‘गाउँमै राेजगारी सिर्जना गर्न सरकार लाग्‍‍नुपर्छ’
गुल्मी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल विद्यार्थी संघ तनहुँले आयोजना गरेको अनलाइन प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै वरिष्ठ नेता पौडेलले कोभिड-१९ का कारण मानिस गाउँ फर्किएकाले अब उनीहरूलाई गाउँमा नै बसुँबसुँ बनाउनेतर्फ सरकारले सोच्नुपर्ने बेला आएको बताए।

“शहरमा रोजगारी खोज्न गएका मानिस गाउँमा आएका छन्, गाउँमा पुगेको जनशक्तिलाई अब गाउँमै बसुँबसुँ बनाउनुपर्छ। त्यसका लागि गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बेला आएको छ”, उनले भने।

वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको अवस्था सिर्जना गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने बताए।

“बन्दाबन्दीको अवस्थाले उत्पादन घट्न सक्ने भएकाले कृषिमा आत्मनिर्भर बनाउनेतर्फ सरकारले योजना बनाएर कृषिमा लगानी बढाउनुपर्छ”, उनले भने, “अहिले सङ्कटले थला परे पनि भविष्यमा खाद्य अभावले ज्यान जान सक्ने अवस्था आउन सक्छ।”

बन्दाबन्दीको सदुपयोग गर्न र घरमै बसिरहेका विद्यार्थी नेताहरूलाई प्रशिक्षित गर्न अनलाइन प्रशिक्षण सञ्चालन गरिएको नेपाल विद्यार्थी संघ तनहुँका सभापति चूडामणि खनालले जानकारी दिए।

२२ वैशाखदेखि शुरू भएको प्रशिक्षण कार्यक्रममा कोरोना हुँदाको नेपालको अवस्था र कोरोनापछिको नेपालको अर्थतन्त्रको अवस्थाका बारेमा प्रशिक्षण दिइएको थियो।

सो अवसरमा कांग्रेसको नीतिनियम, आचारसंहिता र देशको समसामयिक विषयमा पनि प्रशिक्षण दिइएको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्