गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन ११ जेठका लागि आह्वान

पाेखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको बजेट अधिवेशन ११ जेठका लागि आह्वान गरेका छन्।

प्रदेश सरकार मन्त्रिपरिषद्को हिजाे, ४ जेठको बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेकामा प्रदेश प्रमुख शेरचनले प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी अधिवेशन आह्वानको सूचना जारी गरेका हुन्।

“प्रदेश सरकार गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सभाको अधिवेशन संवत् २०७७ जेठ ११ गते आइतबार दिनको १ बजेदेखि पोखरा सभागृहमा आरम्भ हुने गरी आह्वान गरेको छु”, प्रदेश प्रमुखद्वारा जारी सूचनामा भनिएको छ।

सरकारले नदीपुरस्थित प्रदेश सभा भवन साँघुरो भएको र सामाजिक दूरी कायम गर्न कठिनाइ पर्ने भएकाले सभागृहमा संसद् बैठक राख्न लागिएको जनाएको छ।

त्यसैगरी हिजोको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई एक/एकवटा स्कारपियो गाडी खरिदका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको छ।

तनहुँको दुई स्थानमा शवदाह गृह मेसिनका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि संघीय सरकारलाई सिफारिसको निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

बैठकले लघु तथा साना उद्यमीहरूलाई मेसिन उपकरण हस्तान्तरण गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्