म्यानुफ्याक्चरिङ कम्पनीहरूलाई चीनबाट फर्काउन अमेरिकी संसद्मा विधेयक

वासिङ्टन। एक अमेरिकी सांसदले चीनमा रहेका कम्पनीहरूलाई स्वदेश फर्काउनेसम्बन्धी विधेयक संसद्‍मा दर्ता गराएका छन्।

चीनमा रहेको म्यानुफ्याक्चरिङ युनिट बन्द गरेर अमेरिकी कम्पनीहरूलाई स्वदेश फर्काउने मार्गचित्र उनले विधेयकमा प्रस्तुत गरेका छन्। अमेरिका फर्किन चाहने कम्पनीहरूलाई सरकारले आर्थिक सहायता गर्नुपर्ने प्रस्ताव पनि विधेयकमा गरिएको छ।

सांसद मार्क ग्रिनले ‘द ब्रिङ अमेरिकन कम्पनिज एट होम एक्ट’ संसद्‍मा प्रस्तुत गरेका हुन्। चीनबाट आयात हुने सामानमा कर लगाएर त्यसलाई आफ्ना कम्पनीलाई स्वदेश फर्काउन खर्च गर्नुपर्ने उनको प्रस्ताव छ।

“अमेरिकी अर्थव्यवस्था आफ्नो खुट्टामा उभियोस् भन्‍नाका लागि देशभित्रै लगानी बढाउनु जरुरी छ,” ग्रिन भन्छन्। उनका अनुसार अमेरिकी कम्पनीहरूलाई स्वदेश फर्काउन मुख्य समस्या खर्चकै हो। सोही कारण कुनै पनि अमेरिकी कम्पनीले जोखिम उठाउन नचाहेको उनी बताउँछन्।

“चीन अब अमेरिकाको भरपर्दो मित्र रहेन,” उनी भन्छन्, “अमेरिकालाई फेरि अगाडि बढ्नुपर्छ र चीनसँगको निर्भरता समाप्त गर्नुपर्छ। यो हाम्रा लागि नयाँ मार्ग तय गर्ने अवसर हो।”

कोभिड-१९ महामारीका बीच चीनले अमेरिकी लगानीकर्ताबाट गलत फाइदा उठाउन सक्ने दाबी गर्दै उनले ‘सेक्योर आवर सिस्टम्स अगेन्स्ट चाइनाज ट्याक्टिस एक्ट’ पनि संसद्‍मा प्रस्तुत गरेका छन्।

यस्तै, र्‍यान राइट र मार्क बिजीले ‘एअरपोर्ट इन्फ्रास्ट्रक्चर एक्ट’ पनि दर्ता गराएका छन्। उक्त विधेयक चिनियाँ साइबर आक्रमणबाट अमेरिकाको संवेदनशील पूर्वाधार बचाउनका लागि भएको उनीहरूको दाबी छ।

प्रतिक्रिया दिनुहोस्