सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक जारी

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ।

बिहान साढे १० बजे शुरु भएको बैठकमा कोभिड-१९ को महामारी र लकडाउनका कारणले विभिन्‍न देशमा अलपत्र परेका नेपाली नागरिकलाई फिर्ता ल्याउने विषयमा छलफल केन्द्रित छ।

यस्तै, स्वदेश फिर्ता आउन चाहने नेपालीलाई पनि कसरी ल्याउने र नेपाल ल्याइसकेपछि के कसरी व्यवस्थापन गर्ने भन्‍ने विषयमा बैठकमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

विदेशमा अलपत्र परेका नागरिकलाई स्वेदश ल्याउन सरकारलाई दबाब बढिरहेको छ। सर्वोच्च अदालतका आदेश र राष्ट्रिय मानवअधिकार आयोगले पनि पटक-पटक सरकारका नाममा निर्देशन जारी गरिसकेको छ।

प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरूले विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्नुपर्ने आवाज उठाइरहेका छन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा पनि यस विषयमा छलफल भएको थियो।

प्रधानमन्त्रीले मध्याह्न प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ। उच्चस्तरीय समितिले प्रधानमन्त्रीको सम्बोधनअघि नै विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीहरूलाई स्वदेश ल्याउने प्रक्रियाका बारेमा टुंगो लगाउने बुझिएको छ। त्यसैको आधारमा संसद्को बैठकमा प्रधानमन्त्रीले बोल्न सक्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्