नेपालमा आउँदा दिन थप चुनौतिपूर्ण हुन सक्छन्: स्वास्थ्यमन्त्री

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा आउने दिन थप चुनौतिपूर्ण हुने बताएका छन्।

७३ औं विश्‍व स्वास्थ्य महासभालाई आज बिहान सम्बोधन गर्दै मन्त्री ढकालले कोभिड-१९ बाट हालसम्म नेपालमा दुई जनाको ज्यान गइसकेको र संक्रमितको संख्या केही दिनयता बढ्दो क्रममा रहेकाले थप चुनौतिपूर्ण हुन सक्ने बताएका हुन्।

“स्वास्थ्य विकासको एक प्रमुख आधार हो। निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्‍टि गरेको छ,” उनले भने, “यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ। त्यसैले हाम्रा समग्र प्रयासहरूलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु।”

कोभिड नियन्त्रणमा विश्‍व स्वास्थ्य संगठनलगायत विभिन्‍न राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय सरोकारवाला निकायहरूको भूमिका सराहनीय रहेको भन्दै उनले विश्‍व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्‍टी भएको बताएका छन्।

सर्वव्यापी स्वास्थ्य सुरक्षाका लागि सदस्य राष्‍ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नुपर्ने आजको आवश्यकता भएको मन्त्री ढकालको भनाइ छ।

कोरोनाविरूद्धको विश्‍व एकतालाई अझ प्रभावकारी बनाउदै महामारीका चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्न विश्‍व समुदायसमक्ष उनले आग्रह गरेका छन्।

नेपालले महामारीको शुरुवातदेखि नै उच्च राजनैतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्रमार्फत विपदको प्रतिकार्य गर्दै आएको मन्त्री ढकालले सम्बोधनमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्