हामीले चल्तेचलाते लोकतन्त्र भनेका होइनौं, जनताको जीवनमा परिवर्तन ल्याउने परिपूर्ण लोकतन्त्र चाहेका छौं- प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको जारी बैठकमा सरकारले भन्ने गरेको परिपूर्ण लोकतन्त्रको खाका प्रस्तुत गरेका छन्। केही सांसदहरूले सरकारले भन्ने गरेको परिपूर्ण लोकतन्त्रबारे प्रश्न उठाएको भन्दै त्यसबारे स्पष्ट पारेका हुन्।

उनले 'मानव जीवनका सम्पूर्ण पक्ष समेट्ने, उपलब्धीमा सबैको पहुँच र सेयर भएको सामाजिक न्यायसहितको लोकतन्त्र' सरकारले चाहेको उनले बताए।

"यसैकारण समृद्ध नेपाल मात्र होइन, हाम्रो राष्ट्रिय आकांक्षा-सुखी नेपाली पनि हो," उनले भने।

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लोकतन्त्र खोजेको बताउँदै उनले 'प्रशस्त राजनीतिक अधिकार भइरहने तर जीवन जिउनका लागि सकडमा बालबालिकाले कुकुरसँग लडिरहनुपर्ने, अभिभावकविहीन भएर बस्नुपर्ने अवस्था पूर्ण लोकतन्त्र नहुने' बताए।

"बुढाबुढीहरू सडकमा अलपत्र परेका छन्, बेसहारा भएका छन्," उनले भने, "हाम्रा ज्येष्ठ नागरिकको अवस्था त्यो छ, तर हामी वाक स्वतन्त्रता मात्र भनिरहन्छौं। मान्छे बाँच्नका लागि तड्पिएर सडकमा हिँडेको छ र हामी 'लोकतन्त्र' मात्र भन्छौं भने त्यसको के अर्थ रहन्छ ?"

उनले 'देख्न मात्र पाइने तर, जनताले जीवनमा परिवर्तन महशुस गर्न नपाउने, उपभोग गर्न नपाउने लोकतन्त्र चल्तेचलाते लोकतन्त्र हुने' भन्दै नेपालमा जीवनको सुरक्षासहितको परिपूर्ण लोकतन्त्र अभ्यास गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्