प्रधानमन्त्रीले संसदमा भने- ‘अर्थतन्त्रभन्दा पहिला ज्यान सरकारको प्राथमिकतामा छ’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ ले अर्थतन्त्रमा पार्ने प्रभावभन्दा मानिसको ज्यानमा पार्ने प्रभाव सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले सम्बोधन गरेपछि त्यसको प्रष्टीकरणमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ज्यान जोगिए मात्रै अर्थतन्त्र जोगाउन सकिने बताए।

“कोभिड-१९ बाट अर्थतन्त्रमा पार्ने प्रभावभन्दा मानिसको ज्यानमा पार्ने प्रभाव न्यूनीकरण सरकारको पहिलो प्राथमिकतामा छ। निजी क्षेत्रको पनि पहिला ज्यान जोगाउनुपर्छ”, प्रधानमन्त्री ओलीले भने।

सांसदहरूले कोरोनाको दुस्प्रभावबाट क्षति बेहोरेका उद्योग, पर्यटनलगायतको क्षेत्रमा सरकारी राहतको के कार्यक्रम छ भनेर प्रश्न गरेका थिए। त्यसैलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “कोरोनाले धेरै सम्पत्ति भएको, ठूलो ओहादामा भएको, उद्योग भएको व्यक्तिलाई चिन्दैन। तसर्थ जो भए पनि पहिला ज्यान जोगाउनुपर्छ।”

यतिबेला सरकारको पहिलो प्राथमिकता मानवीय सुरक्षा भएकाले त्यसमा ध्यान केन्द्रित गरेको उनले बताएका छन्। “सिंगै अर्थतन्त्र उठाउँछौं, देश विकास गर्छौं भनेका छौं। योजनबद्धरूपमा यो कुरा भनेका हौं”, उनले भने।

निजी क्षेत्रका व्यवसायीहरू सरकारले अहिलेसम्म राहतको कुनै कार्यक्रम नल्याएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। उद्योग वाणिज्य महासंघमा आवद्ध व्यवसायीहरूले ५ जेठमा भर्चुअल पत्रकार सम्मेलन गरेर बैंकको ब्याज तिर्न नसकेकै कारण उद्योगीहरू आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका थिए।

संकटग्रस्त अवस्थामा सरकारले सहयोग नगरे उद्योग बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्